जबरजस्ती गर्ने पत्रकार परे प्रेस काउन्सिलको फन्दामा 



काठमाडौँ । 

पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ ।
एक सरकारी कार्यालयमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबरजस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो ।

काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरे लगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौँ उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए ।  उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत चल्ने टिभी र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।

काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्‍याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।

 जथाभाबी लेख्ने, बार्गेनिङ गर्ने युट्युबसहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्