पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको आयोगको दाबी छ ।

तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध आयोगले त्यसको दोब्बर जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृतहरु भुपबहादुर बोगटीले १ करोड ४९ लाख ६९ हजार १ सय ३५ रुपैयाँ, गोपालबहादुर ढुंगानाले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्यालले १६ लाख ८१ हजार ६०० रुपैयाँ र चन्द्रबहादुर भण्डारीले २ लाख ४४ हजार ४६२ रुपैयाँ हिनामिना गरेको आयोगकाे दाबी छ ।

आयोगले उनीहरुविरुद्ध त्यसको दोब्बर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

तिवारीले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ र उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ हिनामिना गरेको दाबीसहित त्यसको दोब्बर जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्