भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्‍यो

२५ जिल्लामा अझै महासमिति सदस्य टुंगिन सकेन



काठमाडौं ।

आगामी मंसिर १३–१५ हुने तयारी गरिएको नेपाली कांग्रेसको महासमिति बैठक जाजरकोट र रूकुममा गएको विनासकारी भूकम्पका कारण सरेको छ । भूकम्प प्रभावितको उद्धार राहत र पुनःस्थापनाको काममा पार्टीपंक्ति खटिनुपर्ने भएकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो भेला मंसिर २९ देखि पुस २ सम्म गर्ने गरी सारेको हो ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बसेर उक्त निर्णय गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । देशभरका २५ भन्दा बढी जिल्लाबाट अझै महासमिति सदस्यको निर्वाचित विवरण आइनसकेकाले समेत बैठकलाई प्रभाव परेको कतिपय नेताले बताएका छन् । हालसम्म ५० जिल्लाको नामावली कार्यालयमा प्राप्त भएको र बाँकीको आउने क्रम जारी रहेको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

२५ भन्दा बढी जिल्लाबाट कांग्रेसमा अझै महासमिति सदस्यहरूको विवरण आइ नपुगेको उहाँको भनाइ छ । तर, यही कारण बैठक सरेको नभई भूकम्पपीडितको राहत, उद्धार र पुनःस्थापनामै पार्टीको सबै शक्ति खर्च हुने भएकाले समयको पावन्दी र बैठक स्थलल व्यवस्थापन अभावले भेला सरेको पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । पार्टीले मंसिर २४ सम्ममा सबै जिल्लाका महासमिति सदस्य निर्वाचन वा सहमतिबाट सदस्य छनोट गरी विवरण पठाउन अन्तिम मिति तोकेर निर्वाचन समितिलाई पत्र काटेको थियो । तर, दुई दर्जन जिल्लामा सहमति हुन सकेको छैन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता हुने महासमिति सदस्य चयनमा अझै सहमति हुन नसकेको कतिपय जिल्लाका नेताहरूले गुनासो गरेका छन् । काठमाडौं, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेका छैन ।

त्यस्तै, मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पाल्पा, कैलालीमा समेतको महासमिति सदस्यहरूको विवरण पार्टी कार्यालयमा आइनपुगेको बताइएको छ । धनुषामा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले महाधिवेशन प्रतिनिधिहरूलाई थाहै नदिई आफूअनुकूलका व्यक्तिहरूलाई छनोट गरेर पठाएको महाधिवेशन प्रतिनिधि अरविन्दकुमार महतोले गुनासो गर्नुभयो ।
जिल्लाका महत्वपूर्ण र पार्टीमा लामो समय बिताएका नेताहरूलाई बाइपास गरेर आफन्तहरूको नाम पठाएको उहाँले आरोप लगाउनुभयो । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सबै सहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागू गर्न सकेको छैन । समयमै नामावली नआएका जिल्लाले महासमितिको बैठकमा भाग लिन नपाउने कांग्रेसले कडाइका साथ निर्देशन गरेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

निधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।

त्यस्तै, ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेसको महासमितिले पार्टीको विधान, नीति नियम बनाउने काम गर्दछ । ०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको काम धमाधम भइरहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्