गठबन्धन असफल भइसक्यो : महासचिव पोखरेल



जिरी, दोलखा।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको गठबन्धन असफल भै सकेकोले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको बताएका छन् । सोही नीति अनुसार एमालेले कोशी प्रदेशमा केदार कार्कीलाई समर्थन गरेको उनको भनाई छ ।

दोलाखको पर्यटकीय नगरी जिरीमा प्रेस चौतारी नेपाल दोलखाले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले अहिले जातीय, धार्मिक लगायतका बहानामा नेपालको मौलिक संस्कृतिमा प्रहार भै रहेको उल्लेख गर्दै  राष्ट्रिय हित प्रवर्द्धन र सुरक्षा गम्भीर अवस्थामा पुगेको बताए।  छिमेकी चीनसँगको सम्बन्ध जुन तहमा विकास हुनुपर्ने हो त्यो कुरामा प्रधानमन्त्री पुष्पकमल दहाल चुक्नु भएको उनको भनाई छ ।

एमाले महासचिव पोखरेलले सङ्क्रमणकालीन न्यायको विषयमा सरकार र प्रधानमन्त्री पुष्पकमल दहाल गम्भीर नरहेको आरोप समेत लगाए ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा कमब्याकको विषयमा पत्रकारहरुको जिज्ञासामा महासचिव पोखरेलले उहाँ  राजनीतिक रुपमा सचेत रहेकोले मुलुकको राजनीतिक विषयमा चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै  यो उहाँको नितान्त व्यक्तिगत विषय भएकोले धेरै टिप्पणी गर्न नसकिने बताए ।

महासचिव पोखरेलले पूर्व राष्ट्रपति राजनीति भन्दा धेरै माथि रहेको उल्लेख गर्दै  उहाँ त्यही हैसियतमा रहने विश्वास समेत व्यक्त गरे ।
पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

राजनीतिक अस्थिरताको कारण विदेशी चलखेल

एमाले महासचिव शङ्कर पोखरेलले शुक्रवार नै जिरीमा एमाले दोलखाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै  नेपालमा देखिएको राजनीतिक अस्थिरताको कारण राजनीतिक दलको कम्जोरीमात्र नभै विदेशी चलखेल मुख्य रहेको बताए ।

समकालिन राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली जति चलायमान र दूरदर्शी नेता कोही नभएको उल्लेख गर्दै  महासचिव पोखरेलले विकास र समृद्धिको लागि राजनीतिक स्थिरता अनिवार्य रहेको र त्यो एमाले नेतृत्वबाट मात्र सम्भव हुने बताए ।

एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का, बागमती प्रदेश कमिटी सदस्य धमेन्द्र मोक्तान र एमाले दोलखाका सहसंयोजक राजेन्द्र मानन्धरले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रमको लागि महासचिव पोखरेलसँगै एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, राजन भट्टराई, ईश्वरी रिजाल, केन्द्रीय सदस्य सुजिता शाक्य, सरस्वती वस्नेत, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, सचिव नवराज सिलवाल लगायतका नेता जिरी पुगेका छन्।  , प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला भरीका ६० जना कार्यकर्ताको सहभागिता रहने एमाले दोलखाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्