अध्यक्ष ओलीद्वारा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको  उद्घाटन 

बुढी गण्डकी जलविद्युत आफैले निर्माण गर्ने भनाई



धादिङ ।

आफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको  सल्यानटारमा उद्घाटन गर्दै  अध्यक्ष ओलीले आफू  प्रधानमन्त्रीबाट हटेपछि बुढी गण्डकी जलविद्युत परियोजनाको अघि बढेको काम रोकिएको बताए ।

 ओलीले भने,संभवत म प्रधानमन्त्री नभएसम्म बुढी गण्डकी आयोजना बन्दैन होला, सायद  म प्रधानमन्त्री बनिन भने पनि जब नेकपा एमाले सरकारमा जान्छ तब बुढी गण्डकी आयोजना बनाउँछ ।

अहिलेको सरकारले बुढी गण्डकी आयोजनालाई चासो नदिएको ओलीले बताए ।

त्रिपुरा सुन्दरी आफैमा पवित्र पर्यटकीय गन्तव्य भएकोले यस ठाउँको विकासमा एमालेले ध्यान दिइरहेको बताउँदै ओलीले संवृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै दलमा सामाजिक सद्भाव हुनु जरुरी रहेको बताए ।

सल्यानटार क्षेत्रको विकासका लागि नेकपा एमाले नै आवश्यक भएकोले धार्मिक, पर्यटकीय क्षेत्र, सडक निर्माण आदि क्षेत्रको विकास योजना बनाएर एमाले सरकारमा हुँदा गरेको भन्दै कृषि पर्यटनमा एमलेले मात्र काम गरेको दाबी गरे ।

 कात्तिक १७ गते देखि २७ गते सम्म सल्यानटारमा हुने मेला “हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । मेलामा ९० स्टलहरु रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने  आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

मेलाको आकर्षक रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे (आलस),  तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने छ ।
कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैविक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहेको छ ।

 मेलामा  कृषि फुड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड र हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट बेजोड प्रस्तुति समेत रहने छ।

मेलाकै अवसर पारेर स्थानीय धार्मिक स्थलहरु, नरसिंहधाम , त्रिपुरासुन्दरी लगायतका स्थानहरुको अवलोकन गराइने छ ।

प्रतिक्रिया दिनुहोस्