सुन तस्करका नाइके विदेशी नागरिक दावा 

चार महिनापछि नागरिकता खारेज गर्ने निर्णय



काभ्रे। 

दावा छिरिङ भनिने निमा तामाङको नागरिकता खारेज गर्ने निर्णय भए पनि एकै दिन नागरिकता लिएका विदेशी नागरिक पासाङ तामाङ तथा अन्य विदेशी नागरिकहरु सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र उमेश योञ्जनका बारेमा सरकार मौन । उनीहरू जस्तै ३ सय ५० जनाले काभ्रेबाट नागरिकता लिएको खुलासा भएको छ ।

नेपाल समाचार पत्र राष्ट्रिय दैनिकको निरन्तरको खबरदारी पश्चात् लाखौँ रकम तिरेर घरमै नागरिकता प्राप्त गरेको बयान दिएका सुन तस्करीमा संलग्न विदेशी नागरिक दावा छिरिङ्ग भनिने निमा तामाङको नागरिकता खारेज गर्ने सरकारले निर्णय गरेको छ । निमाले काभ्रेबाट २०७४ सालमा काभ्रेको नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना राखेर नागरिकता लिएका थिए ।

निमासँगै नागरिकता प्राप्त गर्ने विदेशी नागरिकहरु पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र उमेश योञ्जनका बारेमा सरकार मौन छ । उनीहरु जस्तै ३ सय ५० जनाले काभ्रेबाट नागरिकता लिएको खुलासा भएको थियो । पासाङ र निमाले एकै दिन पेमा लामा नामका व्यक्तिलाई बाबु बनाउँदै काभ्रेबाट नागरिकता लिएका थिए । दावाको नागरिकता खारेज भए पनि नागरिकता उपलब्ध गराउन संलग्न भएका कर्मचारीहरुको हकमा भने सरकारले केही निर्णय गरेको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी नागरिकता खारेजीका लागि प्रक्रिया सुरु भएको दुई महिना पुग्न लाग्दा समेत मन्त्री परिषद्मा नागरिकता र राहदानी खारेजीको प्रस्ताव पेस हुन सकेको थिएन । शुक्रबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले निमा तामाङको नागरिकता खारेज गर्ने गृह मन्त्रालयको प्रस्ताव पास भएको जानकारी गराइन् ।

सुन तस्करीमा संलग्न भई पक्राउ परेका चिनिँया मुलका बेल्जियम नागरिक दावा छिारिङले निमा तामाङका नामबाट नेपालको नागरिकता प्राप्त गरेको विषयमा ‘निमा तामाङको नागरिकता छानबिन गठित समितिको प्रतिवेदन २०८०’ ले दिएको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निजको नागरिकता खारेजी प्रक्रिया सुरु गरेको थियो । २०८० भदौ १८ गते हाजिर भएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा भाद्र २२ गते नै जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको टिप्पणी सहितको निर्णयका आधारमा गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजी तथा संलग्न कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकी थिइन् ।

छानबिन समितिले नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने व्यक्तिको नेपालको राहदानी प्राप्त प्रयोजनार्थ राहदानी विभागमा रहेको औँठाछाप र बेल्जियमका राहदानी बाहक दावा छिरिङ्गको औंठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक व्यक्ति नभई एकै व्यक्ति भएको पुष्टि भएको साथै निजले झुठा विवरण पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा कुनै द्विविधा रहेन भन्ने निष्कर्ष निकालेको थियो । छानबिन समितिको निष्कर्षका आधारमा निज निमा तामाङलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारबाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्बन्धमा समेत प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ भन्ने प्रतिवेदन छानबिन समितिले गृह मन्त्रालयमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्