टस हारेर पहिले बलिङ गर्दै नेपाल



काठमाडौं  । 

नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा यूएईसँग टस हारेको छ। युएईले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। यो निर्णयसँगै नेपालले फिल्डिङको निम्तो पाएको छ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन्। त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ। हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो। नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ। नेपाल समूह एको उपविजेता र युएई समूह बीको विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्। नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन। नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो। यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो। हङकङलाई २२ रनले हराएको थियो। नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन्। नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ। पछिल्ला पाँच टी(२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्