‘दलहरूबीच विश्वासको वातावरण बन्दै गएको छ’



काठमाडौं  । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार आयोजना गरेका चियापान कार्यक्रम सहभागी भएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘मैले जहिले पनि दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरेको छु ।

आज बिहानको मिटिङ पनि त्यही पहल हो । सकारात्मक भएको छ । अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।’ उहाँले बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएकाले शान्ति प्रक्रिया चाँडै टुंगिने वातावरण बन्दै गएको बताउनुभयो ।

पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानीत नेता झलनाथ खनाललगायत शीर्ष दलका नेताहरू, राज्यका विभिन्न ओहदाका व्यक्ति, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो । पाहुनाहरूलाई एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

चियापान समारोहमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्दा कार्यकर्ताहरूले गडगडाहट तालिले स्वागत गरेका थिए भने ओलीले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दा एमाले कार्यकर्ताले कुनै प्रतिक्रिया जनाएनन् ।

प्रतिक्रिया दिनुहोस्