त्रिविका उपकुलपति बास्कोटा बिदा हुँदै

शैक्षिक, भौतिक, प्रशासनिकका साथै सूचनाप्रविधिको क्षेत्रमा सुधारको दाबी



काठमाडौं । 

चार वर्षे कार्यकाल सकेर बिदा हुन लागेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा बजारमुखी स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न अध्ययन संस्थानहरूमा २१ र संकायहरूमा १७ वटा कार्यक्रमहरू थप गरिएको बताउनुभएको छ ।

कार्यकाल सकिन दुई दिनअघि बुधबार पत्रकार सम्मेलन गरी उपकुलपति प्राडा बास्कोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका र सुधार गर्नुपर्ने योजनाबारे सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक गर्नुभएको योजनामा सूचना प्रविधिसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको, शिक्षक र कर्मचारीको क्षमता अभिवृद्धि गर्न ६ हजार शिक्षक र ५ सय कर्मचारीलाई सूचना प्रविधिसम्बन्धी आपत्कालीन तालिम सञ्चालन गरेको, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको प्रभावकारी नियमन गरिएको उल्लेख छ ।

२०७६ साल कातिक १७ गते नियुक्ति भएदेखि नै विवादमा फस्नुभएका उपकुलपति प्राडा बास्कोटाले १५ सूत्रीय त्रिवि सुधार योजना सार्वजनिक गर्नुभएको छ । तीमध्ये कतिपय योजना सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुन बाँकी छन् । उहाँले आफ्नो कार्यकालमा त्रिविको शैक्षिक, भौतिक, प्रशासनिकका साथै सूचनाप्रविधिको क्षेत्रमा धेरै सुधार भएको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय भवन निर्माण सम्पन्न भएर कार्यालय स्थानान्तरण भएको, सूचना प्रविधि क्षेत्रलाई सबलीकरण गर्दै कीर्तिपुर परिसरमा २५ एमबीपीएस क्षमता रहेको इन्टरनेटको क्षमता वृद्धि गरी ३ सय ९० बनाइएको, परीक्षा सञ्चालन गर्न एकीकृत सफ्टवेयर निर्माण गरिएको र सबै शिक्षक तथा कर्मचारीको ई–हाजिरीको व्यवस्था गरिएको बताउनुभयो ।

त्यसै गरी उहाँले १५ सूत्रीय सुधार योजनामा भूकम्पले क्षतिग्रस्त २७ भवनको जिर्णोद्धार सम्पन्न गरेको, कामपाको सहयोगमा त्रिविको हाताभित्र पर्खाल निर्माण शुरू भएको, त्रिवि परिसरभित्र विभिन्न विभाग जोड्ने पक्की सडक निर्माण शुरू गरेको र झण्डै एक दर्जन बढी क्याम्पस भवन निर्माण गरेको जानकारी पनि दिनुभयो । उपकुलपति प्राडा बास्कोटाले आफ्नो कार्यकालमा अनुसन्धानलाई प्राथमिकता दिएको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षकलाई अनुसन्धानमा आकर्षित गर्न यो वर्षदेखि विज्ञान र गैर विज्ञान गरी दुई विधामा ‘टीयू एक्सिलेन्स रिसर्च अवार्ड’ प्रदान गर्न शुरू गरिएको, निश्चित शैक्षिक पात्रो लागु गरी परीक्षा सम्पन्न भएको सय दिनमा परीक्षाफल प्रकाशित गर्न सुरुआत गरिएको, परीक्षालाई व्यवस्थित बनाउन सीसीटीभी जडान गरेका कक्षामा मात्र परीक्षा केन्द्र कायम गर्न सुरुवात गरिएको, परीक्षा प्रणाली सुधार र विकेन्द्रीकरण गर्न शुरू गरिएको पनि बताउनुभयो ।

आफ्नो ४ वर्षे कार्यकालमा नवीकरण नगरिएका २३ क्याम्पसलाई खारेजी र विद्यार्थी न्युन संख्यामा रहेका २८ क्याम्पसलाई समायोजन गरी १४ क्याम्पस बनाइएको पनि उहाँले सार्वजनिक गर्नुभएको योजनामा उल्लेख छ । सरकार र उपभोक्तासँग समन्वय गरी पाठ्यक्रम परिमार्जन गरिएको, विदेशी विद्यार्थीका लागि निश्चित कोटा छुट्टयाएर ती विद्यार्थीलाई त्रिविमा पढ्न आकर्षित गरिएको, सरकारी क्याम्पसलाई छुट्टै वर्गीकरण गरिएको, १४ वर्षसम्म हुन नसकेको निर्वाचन सम्पन्न्न गरेको, छात्रवृत्तिलाई पारदर्शी वितरण शुरू गरिएको र विद्यार्थी उपचारमा थप सहुलियत व्यवस्था गरिएको योजनामा उल्लेख छ ।

यद्यपि, उहाँको कार्यकालमा बेरुजु घटाउने, सबै विद्यार्थी संघ, संगठनसँग सौहार्दपूर्ण वातावरण कायम गर्ने र कर्मचारीको हितअनुकूल अघि बढ्ने काम हुन भने सकेन । उहाँको कार्यकालमा त्रिवि संघर्ष समिति, विद्यार्थी संघ र संगठनले करिब ३ सय ५० दिन त्रिविका पदाधिकारीको मूल गेटमा तालाबन्दी गरेका थिए । त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको बिदाइका लागि आज बिहीबार त्रिविमा कार्यक्रम आयोजना गरिएको छ ।

चारवर्ष कार्यकालका उपलब्धि
–३ सय ५० दिन पदाधिकारीको कार्यकक्ष बन्द
–२३ क्याम्पस खारेज, १४ समायोजन
–सबै कर्मचारी र शिक्षकलाई ई–हाजिरीको व्यवस्था
–अध्ययन संस्थानमा २१ र संस्थानमा १७ कार्यक्रम थप
–तीनै पदाधिकारीको काम नयाँ भवनबाट शुरू

प्रतिक्रिया दिनुहोस्