बिकेनन् खाद्य कम्पनीका बोका–च्याङ्ग्रा



काठमाडौं । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएर बेच्न राखे पनि अझै ३ सय ओटा बोका–च्याङ्ग्रा बेच्च नसकेको पाइएको छ । प्रत्येक वर्ष दशैँमा नै बेचेर सक्ने खाद्य कम्पनीले यस वर्ष भने च्याङ्ग्रा २ सय ७० र बोका ३० ओटा अझै बेच्न नसकेको हो ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले आर्थिक मन्दीका कारण मानिसमा किन्न सक्ने क्षमता कम भई बोका–च्याङ्ग्रा नबिकेको बताउनुभयो । उहाँले बोका च्याङ्ग्रालाई दानापानी, उचित स्याहारसुसार गरेर राखिएको र तिहारसम्म पनि नबिके केही विकल्प गर्नुपर्ने बताउनुभयो । कम्पनीले अहिले नियमित २÷४ ओटा मात्र दैनिक बिक्री गरिरहेको छ ।

कम्पनीले जिउँदो खसीबोकाको मूल्य किलोको ६ सय ६० रुपियाँ तोकेको छ । त्यसमा पनि १० रुपियाँ छुट दिएर ६ सय ५० रुपियाँमा बिक्री गर्ने भएको हो । शुरूमा कम्पनीले जिउँदो खसीबोकाको मूल्य किलोको ६ सय ८० रुपियाँ तोकेको थियो । त्यसमा पनि १० रुपियाँ छुट दिएको थियो ।

यस्तै, कम्पनीले च्याङ्ग्राको मूल्य पनि समायोजन गरेको छ । जिउँदो च्याङग्राको मूल्य किलोको १ हजार २ सय ३५ रुपियाँ तय गरेको छ । त्यसमा १० रुपियाँ छुट गरेर १ हजार २ सय २५ रुपियाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ । यसअघि खाद्य कम्पनीले जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार २ सय ६० रुपियाँ मूल्य तय गरेर छुटसहित १ हजार २ सय ५० रुपियाँका दरले बिक्री गर्दै आइरहेको थियो ।

अघिल्लो वर्ष १ हजार ६ सय १५ ओटा चौपाया ल्याउँदा नपुगी यस वर्ष २ हजार २ सय १ ओटा खरिद गरिएकाले पनि बिक्री गर्न नसकिएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष च्याङ्ग्रा बढी बिकेको हुनाले यस वर्ष पनि माग बढी हुने देखेर ५ सय ४१ वटा ल्याएको थियो । गत वर्ष १ सय ६२ वटा मात्रै च्याङ्ग्रा कम्पनीले ल्याएको थियो । कम्पनीले यस वर्ष दशैंमा १९ सय चौपायाको बिक्री गरेको छ । विभागले खसीबोका र च्याङ्ग्रा खरिदका लागि करिब ८ करोड ३३ लाख रुपियाँ छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्