सेमिफाइनल पुगेसँगै नेपालको पदक पक्का

-ब्याडमिन्टनमा चुनौती समाप्त -पार्कीको ब्यक्तिगत सुधार



हाङझाउ । नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा पदक पक्का गरेको छ ।

बुधबार महिला कबड्डीको समूह ‘बी’ मा इरानले बंगलादेशलाई ५६–१६ अंकले हराएपछि नेपालले कम्तीमा पनि कांस्य पदक जित्ने पक्का गरेको हो । समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो

नेपाली महिला कबड्डी टोलीको खेल थिएन तर, इरान र बंगलादेशबीचको खेलको निर्णयले भने नेपालको पदक टुंगो लाग्ने समीकरण बनेको थियो । दुई दिनअघि नै नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै लगभग पदक पक्का गरिसकेको थियो । तर, पदक निश्चित भने भइसकेको थिएन । तर, इरानको जितपछि नेपालले पदक तालिकामा नाम लेखाउन सफल भयो । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।

ब्याडमिन्टनमा चुनौती समाप्त

जारी एसियाली खेलकुदमा महिला कबड्डीमार्फत पदक भित्राएको दिन ब्याडमिन्टनमा भने नेपालको चुनौती समाप्त भएको छ । पुरुष डबल्सको अन्तिम–१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २–० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट नेपाली ब्याडमिन्टन यात्रा पनि टुंगिएको हो ।

१९ मिनेट चलेको सो खेलमा नेपालले खेल ११–२१ र ४–२१ ले गुमाएको हो । अन्तिम–३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र रसिद मोहम्मद अज्फानको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । उनीहरुले खेल २१–१८, २१–१७ ले आफ्नो पक्षमा पारेका थिए ।

त्यसैगरी महिला एकलतर्फ पनि राशिला महर्जनको यात्रा अन्तिम–१६ मै सिमित बन्यो । रशिला चीनकी बिङजिओसँग हेसँग २–० को सोझो सेटमा पराजित भइन् । उनले खेल १०–२१, ४–२१ ले गुमाएकी हुन् । रशिलाले अघिल्लो दिन अन्तिम–३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २–० को सोझो सेटको जित निकालेकी थिइन् ।

यसैगरी मिक्स डबल्समा विष्णु कटुवाल र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम–१६ मै पूर्णविराम लाग्यो । उनीहरु चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २–० कै सोझो सेटमा पराजित भएका हुन् । विष्णु र नङ्सल ४–२१, ७–२१ ले स्तब्ध बने ।

यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१–१६, २१–७ ले निरास बनाउँदै अन्तिम–१६ मा प्रवेश गरेको थियो । जारी एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुन पुगेको हो ।

पार्कीको ब्यक्तिगत सुधार

एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।

विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयसाथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्