किशोरको हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक



काठमाडौं ।

काठमाडौंको न्युरोडमा इन्द्रजात्रा हेर्न गएका एक किशोरको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

सोमबार राति साढे ११ बजे जात्रा हेर्न पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भएका १७ वर्षीया सनी कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट घाइते भएका कार्कीलाई अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन्।

परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्की र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका-२४ मखनबाट पक्राउ गरेको हो । भूमी मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जनाएको छ। प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ।  पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान अगाडि बढाएको छ

प्रतिक्रिया दिनुहोस्