दोलखामा सुन प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ



काठमाडौं  ।

दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१५, किमडोल बस्दै आएका उनलाई त्यहिँबाट पक्राउ गरिएको हो। उक्त प्रकरणमा लामाले सुन ल्याउने भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ।

यसअघि नै यो प्रकरणमा तीन जना पक्राउ परेका छन्।  एक चिनियाँ नागरिक र दुई जना नेपाली नागरिक मंगलबार पक्राउ परेका थिए। योसँगै यो प्रकरणमा दुई चिनियाँ र दुई नेपाली गरी चार जना पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।  पछिल्लो समय दोलखाको विभिन्न ठाउँबाट ठूलो परिमाणमा सुन बरामद हुँदै आएको छ। आइतबार दिउँसो मात्रै प्रहरीले विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा ४ किलो सुन बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्