दुई बालकको मृत्युपछि अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो



धादिङ ।

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्युपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट बागेश्वरी माविमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएको थियो ।

विद्यार्थी, स्थानीयवासी तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जन प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्