ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय मैले गरेको छैन : पूर्व  शिक्षामन्त्री शर्मा



काठमाडौँ ।

 नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व  शिक्षा मन्त्री दिननाथ शर्माले ॐ शब्द शब्दकोशबाट नहटाएको जनाएका छन् ।

 बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री रहेका शर्माको अध्यक्षतामा बसेको बैठकले ॐ शब्दलाई शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने प्रचारबाजीमा कुनै सत्यता नभएको शर्माले जनाएका छन् ।

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन,’ शर्माले आज  जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’

 संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको जनाउँदै शर्माले उक्त कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्