डाक्टर कुट्नेलाई धरौटीमा छाड्न हुन्न, सिधै जेल हाल्नुपर्छ : गगन थापा



काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।

सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने ।

डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने थापाको भनाइ छ । ‘घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।’

सरकारले डाक्टरहरूसँग गरेको सम्झौता कार्यान्वयनका लागि संसद्को मदत चाहिने पनि थापाले बताए ।
थापाले स्वास्थ्य सेवा प्रवाह बढाउने विस्तृत योजना स्वास्थ्य मन्त्रालयमा रहेको भन्दै धुलो टक्टक्याएर पढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्