उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीका सिईओ अल्ब्राइटबीच भेटवार्ता



काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसी, अमेरिकाका सिईओ एलिस अलब्राइटबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्‍न भएको छ।

सिईओ अल्ब्राइइट र उनको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक-सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

साथै नेपालको संसदले नै एमसीसी परियोजना पारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए । परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उनले बताए। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाए ।

एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफुले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताए ।त्यसक्रममा सिईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी व्यक्त गरे । एससीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उनले बताए। परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफुहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत अल्ब्राइटले बताए । एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल(अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्‍वास सिईओ अल्ब्राइटले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्