प्याब्सन र हिसानले विद्यालय बन्द नगर्ने, भन्छन्- नैतिक समर्थन छ, बन्द गर्न सक्दैनौँ



काठमाडौं । प्याब्सन र हिसानले शिक्षक महासंघले भोलिबाट आव्हान गरेको अनिश्चितकालिन बन्दलाई समर्थन नगर्ने भएको छ । दुई निकायका अध्यक्षले विद्यालय बन्दलाई समर्थन गर्न नसकिने स्पष्ट पारेको हो । केही मागमा समर्थन गरेका छौँ, तर संविधानसँग विपरीत भएका मागलाई समर्थन गर्न सकिँदैन– दु्ई निकायका अध्यक्षले न्यूज अफ नेपालसँग भने ।

प्याब्सन अध्यक्ष डिके ढुंगानाले महासंघको आन्दोलनलाई समर्थन गरेका छौँ, तर विद्यालय बन्द गरेर समर्थन गर्न सक्दैनौँ । हामी विद्यालय बन्द गर्ने समर्थन गर्न सक्दैनौँ । उहाँले विद्यालय बन्द गर्नुपरे केन्द्रीय कमिटीको बैठकले मात्र निर्णय गर्ने स्पष्ट पार्नुभयो ।

प्याब्सनको हिजो सम्पन्न सचिवालय बैठकले महासंघले गरेको आन्दोलनको नैतिक समर्थन गरेपछि बन्दको विपक्षमा रहने निर्णय गरेको थियो ।

हिसानका अध्यक्ष रमेश सिलवालले बन्दलाई समर्थन गर्न नसकिने स्पष्ट पार्नुभयो । भन्नुभयो– संविधानले कक्षा १२ सम्मको अधिकारी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको अवस्थामा त्यसको विरुद्धमा निर्णय गर्न नहुने सुझाब दिनुभयो ।

कित संविधानको अनुसूची परिवर्तन गर्नुपर्यो, होइन भने संविधानमा उल्लेख भएको विषयमा विरोध गर्न पाइँदैन । उहाँले महासंघको केही मागहरू जायज भएपनि विद्यालय बन्द गर्नु उचित नभएको स्पष्ट पार्नुभयो । महासंघले बन्दको अघिल्लो दिन आज बिहानदेखि माईतीघर र वानेश्वरमा प्रदर्शन जारी राखेका छन् ।

१८ बुँदे असहमति जनाउँदै भोलिबाट अनिश्चितकालिन बन्द आब्हामन गरेको महासंघले देशैभरका शिक्षकलाई काठमाडौं उतारेका छन् । महासंघले भोलिबाट दैनिक प्रदर्शन गर्ने जनाएको छ ।

महासंघका अध्यक्ष कमला तुलाधरले मागको सुनुवाइ नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन फिर्ता नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी मन्त्रालयसँग वार्ता गर्दैनौँ, विधेयक परिवर्तन गर्ने हैसियत राख्ने दल, त्यसको संसदीय दलका नेता र प्रधानमन्त्रीसँग मात्र वार्ता गर्नेछौ ।

महासंघको आन्दोलनलाई सबै दलका शिक्षक संघ र संगठनले समर्थन जनाइसकेका छन् । महासंघले बन्द कार्यक्रमलाई सहयोग गर्न प्याब्सन, राष्ट्रिय प्याब्सन, हिसान लगायत संस्थालाई आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्