संगीतकार बासकोटालाई म्युजिक भिडियो निर्देशकको अवार्ड



ख्यातिप्राप्त गायक, संगीतकार तथा गीतकार शम्भुजित बास्कोटा म्युजिक भिडियो निर्देशकको अवार्डबाट पुरस्कृत भएका छन्।

बासकोटा नेपाल म्युजिक भिडियो निर्देशक समाजले दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत भएका हुन्। दक्षिण एसियाकै मनोरञ्जन क्षेत्रमा पहिलो म्युजिक भिडियो निर्देशन तथा चार दशकभन्दा लामो समयेदेखि सांगीतिक क्षेत्रमा योगदान गरेवापत समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ११ हजार ११ रुपियाँसहित बास्कोटालाई सो पुरस्कार प्रदान गरेका हुन्।

त्यस्तै, गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै लोकगायक प्रेमराजा महत, म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, म्युजिक भिडियो छायांकार धिरजजंग शाह, म्युजिक भिडियो निर्देशक शंकर बिसी र अनुपा श्रेष्ठ, गायक आनन्द कार्की र यस कुमार, गायिकाहरु जुनु रिजाल र प्राश्ना शाक्य तथा गीतकार प्रकाश सुवेदीलाई विशेष सम्मानबाट सम्मान गरिएको छ। त्यसै गरी पत्रकार विजयरत्न तुलाधर, फिल्म निर्देशक सत्यराज चौलागाईं, गीतकार हरि उप्रेती, गायक दीपेश श्रेष्ठ वैद्य, नृत्य कलाकार एलिजिबा पुर्जा पुन, मोडल सुमन खतिवडा, गायक निमा पाख्रिन लामा, गायिकाहरु पाल्मु शेर्पा, शान्ति कुमारी शाही, दीपा रावललगायतलाई पनि सम्मानित गरिएको छ।

समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा मन्त्री किराँतीले नेपाली गीत संगीतमा शम्भुजित बास्कोटाको योगदानकोको चर्चा गर्दै संगीत क्षेत्रका मूर्धन्य व्यक्तिलाई सम्म्मान तथा पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए। समाजका महासचिव सुव्रत आचार्यले नेपाली म्युजिक भिडियोमा योगदान दिएको श्रष्टाको नामबाट पुरस्कार स्थापना गरेर नेपालका पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई पुरस्कृत गर्दै यो पुरस्कारको परम्परा शुरु गरेको जानकारी गराए। समारोहमा फिल्म निर्देशक तथा प्रतिनिधिसभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरियो। कार्यक्रममा गायकगायिकाहरु आनन्द कार्की, यशकुमार, रामजी खाँड, प्राश्ना शाक्य र जुनु रिजालले आप्mना चर्चित गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्