नयाँ मिसेस नेपाल वर्ल्डको खोजी



रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड यस वर्ष पनि हुने भएको छ।

यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस वर्ष पनि मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उनले जानकारी गराए। यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नया” बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन्।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल वल्र्ड २०२३ को विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ। त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ। गत डिसेम्बरमा सम्पन्न मिसेस वल्र्डमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिईन्।

अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विवाहित सुन्दरीहरूलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञबाट नियमित तालिम र प्रशिक्षण दिइनेछ। गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि प्रदान गरिनेछ। प्रतियोगिताका अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेसनलको उपाधिबाट सम्मानित गरिएको थियो भने यस वर्ष पनि फिल्म क्षेत्रको एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्