फ्रान्स र कोलम्बिया क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । फ्रान्स र कोलम्बिया अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार हिन्दमार्श स्टेडियममा भएको प्रि–क्वार्टरफाइनलमा फ्रान्सले मोरोक्कोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो हाफको ९ मिनेटको अन्तरमा तीन गोल गर्दै फ्रान्स सहज जिततर्फ अघि बढेको थियो ।

खेलको १५औं मिनेटमा पहिलो गोल गरेको फ्रान्सले २३ मिनेटभित्र नै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । फ्रान्सको जितमा इगुएन ले सोमरले दुई गोल गर्दा कादिदियातौ डियानी र केन्जा डालीले एक–एक गोल गरिन् । खेलमा फ्रान्सले आफ्नो दबदबा बनाउँदै ७६ प्रतिशत बल पोजेशन राखेका थिए ।

फ्रान्सका लागि खेलको १५औं मिनेटमा डियानीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उनले सकिना कर्चाओइको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यसपछि २०औं मिनेटमा डालीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेकी थिईन् । उनले डियानीको पासमा गोल गर्न सफल भइन् ।

त्यसको तीन मिनेटपछि नै सोमरले गोल गरेपछि पहिलो हाफसम्म फ्रान्स ३–० ले अघि बढेको थियो । उनले डियानीको पासलाई सदुपयोग गरिन् । त्यसैगरी खेलको ७०औं मिनेटमा सोमरले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । उनले यसपटक भिकी बेचोको पासमा गोल गर्न सफल भइन् । अब फ्रान्सले क्वाटरफाइनलमा सह–आयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

उस्मीको शानदार गोल

जमैकालाई १–० गोलअन्तरले पराजित गर्दै कोलम्बियाले पनि अन्तिम आठमा स्थान पक्का ग¥यो । कोलम्बियाको जितमा दोस्रो हाफमा क्याटलिना उस्मीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५१औं मिनेटमा शानदार गोल गर्न सफल भएकी थिइन् ।

मेलवर्न रेकटेङगुलर स्टेडियम मेलवर्न अष्ट्रेलिया प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । तर, ५१औं मिनेटमा उस्मीले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाइन् । उनले एना गुजमनको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यही गोल नै कोलम्वियाको जितमा निर्णायक बन्यो ।

कोलम्वियाले क्वाटरफाइनलमा युरोपेली च्याम्पियन इंग्ल्यान्डसँग सामना गर्नेछ । यी दुई टोलीको खेल १२ अगस्टमा हुनेछ । इंग्ल्यान्डले सोमबार नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा स्थानमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्