मायामी लिग्स कपको अन्तिम आठमा



वाशिंटन, (एजेन्सी) । लियोनल मेसीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी सानदार पुनरागमन जितेका साथ लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एफसी डालासलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै मायामी क्वाटरफाइनलमा प्रवेश गरेको हो । डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । त्यसअघिको खेलमा मायमीले सुरुवाती अग्रता लिएपनि डालास खेलमा फर्किएको थियो । ८३औं मिनेटसम्म ४–२ ले अघि रहेपनि पांच मिनेटको अन्तरमा मेसीले लगातार दुई फ्रिकिकमा गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको छैटौं मिनेटमा कप्तान मेसीले मायामीलाई अग्रता दिलाएका थिए । लेफ्ट ब्याक जोर्डी अल्बाको कटब्याकलाई मेसीले पेनाल्टी क्षेत्र बाहिरबाटै बटम कर्नर भेटे । ३७औं मिनेटमा फाकुन्डो क्विगननले बराबरी गोल फर्काए । मार्को फार्फानको पासमा उनले गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डालासलाई अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा एलन भेलास्कोले ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल हुँदा डालास ३–१ ले अघि बढेको थियो । त्यसको दुई मिनेटपछि नै अल्बाकै पासमा क्रेमास्कीले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

तर, ६८औं मिनेटमा डालासले अर्को गोल थप्यो । रोबर्ट टेलरले लो क्रस बचाउने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगे । ८०औं मिनेटमा डालासका मार्को फार्फानले पनि आत्मघाती गोल गर्दा मायामीलाई पुनरागमनको बाटो खुल्यो । मेसीको फ्रिकिकमा उनको हेडर आफ्नै पोस्टमा गोल भयो । ८५औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल ४–४ को बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्र बाहिर दायाँ भागमा पाएको फ्रिकिकलाई टप कर्नरमा गोल गरे ।

टाइब्रेकरमा मायमीको सबै पांच प्रहार गोल हुँदा डालासका लागि दोस्रो प्रहारमा पाक्सटन पोमीकाल चुकेका थिए । मायामीका लागि मेसी, सर्जियो बुस्केट्स, लुइस काम्पाना, कमाल मिलर र क्रेमास्कीले गोल गरे । मायामीले अब क्वाटरफाइनलमा ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्