स्वीडेन र नेदरल्यान्डस् क्वार्टरफाइनलमा



लन्डन, एजेन्सी । स्विडेन र नेडरल्यान्डस् फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महिला विश्वकपको सर्वाधिक सफल चार पटकको विजेता तथा दुई पटकको साविक विजेता अमेरिकालाई प्रि–क्वाटरफाइनलमा स्विडेनले माथ खुवाएको हो । सडन डेथमा ५–४ ले नतिजा आफ्नो पक्षमा पार्दै स्विडेन अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडन डेथमा लम्बिएको थियो । टाइब्रेकरमा स्वीडेनकी फ्रिडोलिना रोल्फो, एलिन रुवेन्सन र हाना बेनिन्सले गोल गर्न सफल हुँदा नाथलि विजोर्नको प्रहार आकासिदा रेविका ब्लोमभिस्टका प्रहारलाई अमेरिकी गोलरक्षक एलिसा नाहिरले बचाइन् ।

सडनडेथमा स्वीडेनकी मागडालेना एरिक्सन र लिन हुर्टिगले गोल गर्न सफल भइन् । हुर्टिगको अन्तिम पेनाल्टीलाई एलिसा नाहिरले दोस्रो प्रयासमा बचाएपनि रेफ्रीको भिएआरको सहायता लिदै गोल प्रदान गर्दा स्विडेनको टिमले विजयी खुशियाली मनाए । टाइब्रेकरमा अमेरिकाकी एन्डी सुलीभान, लिन्डसे होरान, क्रिष्टि मेविस र सडन डेथमा एलिसा नाहिरले गोल गर्न सफल भइन् ।

अमेरिकाकी मेगान रापिनोई र सोफिया स्मिथको प्रहार अकासिदा केली ओहोराको प्रहार पोस्टमा लाग्दै फर्किदा अमेरिकाको खेलमा फर्कने सम्भावना झिनो बन्यो । र स्वीडेनकी हुर्टिगले गोल गर्दै अमेरिकालाई स्तब्ध बनायो ।

त्यसअघि अस्टे«लियाको मेलवर्न रेकटेङगुलर स्टेडियम मेलवर्नमा आइतबार भएको निर्धारित समयको खेलमा अमेरिकाले बल पोसेसन राखेको थियो । लगातार दवाब बढाएपनि स्वीडेनको बलियो रक्षापंक्ति तोड्न नसक्दा खेल निर्धारित समय र अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म लम्बिएको थियो । खेलको १८औं मिनेटमा ट्रिनिटी रोडमनको प्रयासलाई स्वीडेनकी गोलरक्षक जेसिरा मुसोभिचले पञ्च गर्दै बचाएपछि अमेरिका अग्रता लिनबाट चुक्यो ।

२७औं मिनेटमा रोडमनकै प्रहारमा गोलरक्षक मुसोभिच बाधक बनिन । माग्दालेना एरिक्सनको गलत पासलाई नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहारलाई उनले पञ्च गर्दै बचाइन । ३४औं मिनेटमा कप्तान लिन्डसे होरानको सशक्त हेडर क्रसबारमा लाग्दै बाहिरिदा अमेरिका अग्रता लिनबाट चुक्यो ।

८५औं मिनेटमा परिवर्तित खेलाडी सोफिया ज्याकोब्सनको शक्तिशाली प्रहार सिधै गोलरक्षक एलिसा नाहिरको हातमा पुग्दा स्वीडेन अग्रता लिनबाट चुक्यो । यो स्वीडेनको खेल भरमा एक मात्रै आक्रमण थियो । त्यसपछि गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्वियो । ९६औं मिनेटमा एलेक्स मोर्गानको प्रहारमा गोलरक्षक जेसिरा मुसोभिच नै बाधक बनिन् । १०१औं मिनेटमा विलियम्सको प्रहारलाई जेसिरा मुसोभिचले विफल पारिन । अब स्वीडेनले क्वाटरफाइनलमा जापानसँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । जापानले शनिबार नर्वेलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

दक्षिण अफ्रिका पराजित

अर्को उपाधि दावेदार नेदरल्यान्डस् दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश ग¥यो । आइतबार भएको प्रि–क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो । नेदरल्यान्डस्को जितमा जिल रुड र लिनेथ विरेन्सटाइनले गोल गरेका थिए ।

पहिलो हाफमै दुई महत्वपुर्ण खेलाडी गुमाएपछि दक्षिण अफ्रिका समस्यामा परेर नतिजा नै सुम्पन पुग्यो । अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी फुटबल स्टेडियममा भएको खेलको नवौं मिनेटमा रुडको गोलबाट डच टोलीले सुरुवाती अग्रता लिन सफल भयो । उनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भइन् ।

एक गोलले पछि परेको दक्षिण अफ्रिकाका दुई महत्वपूर्ण खेलाडी १२ मिनेटको अन्तरमा चोट बोक्दै बाहिरिएपछि टोली थप समस्यामा प¥यो । ३०औं मिनेटमा जेर्मेन सेपोसेन्वी चोटका कारण बाहिरिन पुगिन । ४२औं मिनेटमा बम्वानानी एम्वाने पनि चोटका कारण बाहिरिदा टोली थप समस्यामा पुगेको थियो ।

खेलको ५४औं मिनेटमा लेकी मार्टिनले गोल गरेपनि भिएआरबाट अफसाइड घोषित हुँदा नेदरल्यान्डस् अग्रता दोब्बर पार्नबाट चुक्यो । ६८औं मिनेटमा विरेन्सटाइनले लेकीको पासमा गोल गर्दै नेदरल्यान्ड्सको सहज जित पक्का गरिन् । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका त्यसभन्दा अघि बढ्न सकेन । अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ ।

कगाटलाना खतरा देखिइन्

नेदरल्यान्ड्सका लागि दक्षिण अफ्रिकाकी कगाटलाना खतरा देखिएकी थिइन् । उनले जारी विश्वकपमा दुई गोल गर्नुका साथै दुई गोलका लागि एसिस्ट गरेकी थिइन् । २७ वर्षीया खेलाडीले डच टोलीविरुद्ध ७ खतरनाक प्रहार गरिन् तर, डच टोलीकी कीपर भान डोमसेलारले उनलाई निरास बनाइन् ।

पराजित भएपनि पैसा पाउने

जारी विश्वकपमा दक्षिण अफ्रिकाको टोलीले सबैलाई प्रभावित गरेको छ । गत विश्वकप २०१९ मा तीनै खेल हारेको दक्षिण अफ्रिकाले यो विश्वकपमा अन्तिम १६ मा पुगेर इतिहास रच्यो । यो विश्वकपमा टोलीले इटालीलाई समेत पराजित गरेर इतिहास कोर्न सफल भएको थियो ।

विश्वकपबाट बाहिरिएपनि दक्षिण अफ्रिकाका हरेक खेलाडीले ५० हजार डलर फिफाबाट पाउने भएका छन् । फिफाको निर्णयअनुसार अन्तिम १६ मा बाहिरिएको टोलीका हरेक खेलाडीको हकमा ५० हजार डलर पर्नेछ । तर, दक्षिण अफ्रिका फुटबल संघ (साफा) ले भने कुनै घोषणा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्