बलियो जर्मनी बाहिरियो



लन्डन, (एजेन्सी) । उपाधि दावेदार तथा दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह एच को अन्तिम चरणको खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा यही समूहको अर्को खेलमा कोलम्विया मोरोक्कोसँग १–० गोलअन्तरले पराजित भएपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै आठ संस्करणमा जर्मनीले नकआउट चरणको यात्रा तय गरेको थियो । एक गोलले पछि परेको जर्मनीले दक्षिण कोरियासँग १–१ गोलको बराबरी खेलेको हो । दक्षिण कोरियाकी सो ह्युन चोले गोल गर्दा जर्मनीकी एलेसान्द्रा पोपले बराबरी गोल फर्काइन् ।

ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा बिहीबार भएको खेलको सुरुमै जर्मनी खेलमा पछि परेको थियो । छैटौं मिनेटमा सो ह्युन चोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाइन् । उनले योङ जु लीको पासमा गोल गर्न सफल भएकी थिइन् ।

खेलमा सम्हालिन नपाउँदै गोल बेहोरेको जर्मनीले त्यसपछि बल पोसेसन राख्दै लगातार दवाब सिर्जना गर्दा ४२औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । एलेसान्द्रा पोपले एसभेन्जा हुथको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । दोस्रो हाफमा पनि जर्मनीले लगातार दवाब बढाएपनि दक्षिण कोरियाको बलियो रक्षापंक्ति तोड्न नसक्दा खेल बराबरीमा सकियो । खेलको ५८औं मिनेटमा पोपले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता नदिँदा जर्मनी जितबाट बञ्चित भयो ।

यस बराबरीसँगै जर्मनी समूह ‘एच’ मा तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा रह्यो । यसअघि मोरोक्कोलाई पराजित गरेको जर्मनीले कोलम्बियासंग हार ब्यहोरेको थियो । जर्मनीलाई रोकेको दक्षिण कोरियाले भने एक अंक बटुल्यो ।

यसअघि दक्षिण कोरिया कोलम्बिया र मोरोक्कोसँग पराजित भएको थियो । यो समूहबाट कोलम्विया समूह विजेता र मोरोक्को उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरे । बिहीबार यी दुईबीच भएको खेलमा अनिस्सा लहमारीले पहिलो इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोल नै मोरोक्कोलाई जित दिलाउन पर्याप्त बन्यो । दुवै टोलीले समान ६ अंक बटुलेपनि गोल अन्तरमा कोलम्विया शीर्षस्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्