नेदरल्यान्ड्स विजेता बन्दा पोर्चुगल बाहिरियो



लन्डन, (एजेन्सी) । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा नेडरल्यान्ड्स समूह विजेता बन्दा पोर्चुगल प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रतियोगिताअन्तर्गत मंगलवार भएको खेलमा भियतनाममाथि सानदार जित दर्ता गर्दै नेदरल्यान्ड्स समूह ई को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जबकी साविक विजेता अमेरिका दोस्रो बन्न बाध्य भएको थियो । डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० को भारी गोल अन्तरले हराएर नेदरल्यान्ड्स समूह विजेता बन्न सफल भयो ।

नेदरल्यान्ड्सको सानदार जितमा इस्मी ब्रुट्स र जिल रुडले समान दुई तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले समान एक गोल गरेका थिए । पहिलो हाफमै पाँच गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल थप्दै जारी प्रतियोगिताकै ठूलो जित दर्ता गरेको हो । गोलको वर्षा भएको उक्त खेलको आठौं मिनेटमा मार्टिन्सको गोलबाट नेदरल्यान्ड्सले गोलको खाता खोलेको थियो । खेलको ११औं मिनेटमा स्नोइसले गोल गर्दै डच टोलीको अग्रता दोब्बर बनाइन् । उनले ड्यानिलको पासमा गोल गर्न सफल भएकी थिइन् ।

खेलको १८औं मिनेटमा इस्मीले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा ३–० ले अघि बढेका थियो । उनले लेकीको पासमा गोल गर्न सफल भएकी थिइन् । २३औं मिनेटमा रुडले गोल गरेपछि नेदरल्यान्ड्सले २३ मिनेटमै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो । ४५औं मिनेटमा ड्यानिलले गोल गरेपछि नेदरल्यान्ड्स पहिलो हाफमा ५–० को स्थितिमा अघि बढ्यो ।

५७औं मिनेटमा इस्मीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि नेदरल्यान्ड्स खेलमा ६–० ले अघि बढेकोृ थियो । खेलको ६७औं मिनेटमा लेकीले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ८३औं मिनेटमा रुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गर्दै सानदार जित दिलाइन् । यस जितसँगै अपराजित रहेको नेदरल्यान्ड्सले समूह ‘ई’ मा तीन खेलबाट सात अंक जोडेर शीर्षस्थान कब्जा ग¥यो ।

समान खेलबाटै अमेरिका पांच अंक जोड्दै समूह उपविजेता बन्यो भने चार अंक जोडेको पोर्चुगल तथा अंकविहीन भियतनाम प्रतियोगिताबाट बाहिरिएको छ । पोर्चुगल र भियतनामको यो महिला विश्वकपमा पहिलो पटक सहभागिता समेत हो । साविक विजेता तथा सर्वाधिक चार पटकका च्याम्पियन अमेरिकासँग बराबरीमा रोकिएपछि पोर्चुगल यस प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो ।

समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगल समूह ‘ईं’ मा तेस्रो स्थानमा रहेको थियो । पोर्चुगललाई बराबरीमा रोकेको अमेरिका भने समूह उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई नकआउट चरणमा पुग्न बराबरी नै पर्याप्त रहँदा त्यही नतिजा निकाल्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा पोर्चुगलले बल पोसेसन राख्दै दवाब बढाएपनि अमेरिकाको पोस्टमा भने गतिलो आक्रमण बुन्न सकेन । अमेरिकाले भने पाएको मौकालाई सदुपयोग गर्न सकेन । यस बराबरीसँगै अमेरिका तीन खेलबाट पाँच अंक जोडेको छ ।

इंग्ल्यान्ड र डेनमार्क पनि प्रिक्वाटरमा

इंग्ल्याण्ड र डेनमार्क पनि जारी महिला विश्वकप फुटबलको प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् । समूह डी बाट इंग्ल्याण्ड विजेता तथा डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । लौरेन जेम्सले दुई गोल र तीन असिस्ट प्रदान गरेपछि इंग्ल्यान्डले प्रतियोगिताको समूह चरणको तेस्रो खेलमा फराकिलो गोलअन्तरको जित हात पारेको हो । इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा चीनमाथि ६–१ को फराकिलो जित दर्ता गरेको हो । यो टोलीको लगातार तेस्रो जित समेत हो । हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा भएको खेलमा इंग्ल्यान्डको सहज जितमा लौरेन जेम्सले दुई तथा एलेसिया रुसो, लौरेन हेम्प, चोलाई केली र रचेल डलीले समान एक गोल गरिन् । चीनकी सुहाङ वाङले एक गोल फर्काइन् ।

इंग्ल्यान्डले खेलको चौथो मिनेटमा नै रुसोको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले लौरेनको पासमा गोल गर्न सफल भइन् । २६औं मिनेटमा लौरेनकै पासमा हेम्पले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारिन् । सुरुवाती दुई गोलमा असिस्ट प्रदान गरेकी लौरेनले ४१औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई खेलमा ३–० को अग्रता दिलाइन् । उनले एलेक्स ग्रीनवुडको पासलाई सदुपयोग गरिन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा लौरेनले गोल गरेपनि भिएआरबाट अफसाइड ठहंरिदा गोलले मान्यता पाएन । खेलको ५७औं मिनेटमा सुहाङ वाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएकी थिइन् । पेनाल्टी बक्समा लुसी ब्रन्जले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै चीनलाई पेनाल्टी प्रदान गर्दा सुहाङ चुकिनन् ।

६५औं मिनेटमा लौरेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–१ ले अघि बढ्यो । ७७औं मिनेटमा चोलोई केलीले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ ले अघि बढाइन् । यस गोलमा लौरेनले असिस्ट प्रदान गरिन् । यो उनको ह्याट्रिक असिस्ट हो । ८४औं मिनेटमा रचेलले लौरा कम्व्सको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ६–१ को सानदार जित दिलाइन् । योसँगै पराजित चीन तीन अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

यही समूहको अर्को खेलमा डेनमार्कले हाइटीमाथि २–० को सहज जित निकाल्यो । पर्थ रेकटेङ्गुलर स्टेडियम अष्ट्रेलियामा भएको खेलमा डेनमार्कको जितमा पर्निल हार्डर र सान्नी ट्रोइल्सगार्डले गोल गरे । पर्निलले २१औं मिनेटमा गोल गर्न सफल भइन् । त्यसअघि चौथो मिनेटमा सिमोन बोइको गोलले भिएआरबाट मान्यता पाएन । ८३औं मिनेटमा पर्निलको गोलले पनि भिएआरबाटै मान्यता पाएन ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा ट्रोइल्सगार्डले गोल गर्दै डेनमार्कको सहज जित पक्का गरिन् । यस जितसँगै डेनमार्क तीन खेलबाट ६ अंक जोडेरमा समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । हाइटी भने अंकविहीन हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्