अंगदान गर्न प्रेरित गर्दै पुनर्जन्मको प्रिमियर कलाकारले गरे अंगदान गर्ने घोषणा



शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा निर्मित अंगदान र अंग प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र पुनर्जन्म हालै राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

वृत्तचित्रमा नेपालमा अंग फेल हुने अवस्था के छ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिसँगको अन्तरसंवादमार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोशिस गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच प्रदर्शित १५ मिनेट लामो वृत्तचित्र सराना श्रेष्ठले निर्देशन गरेकी हुन। सराना ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको गायिका पुत्री हुन्। समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र सम्भव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत्तचित्रले पनि ठूलो भूमिका खेल्ने चर्चा गरे। वत्तचित्र निर्माणको आवश्यकतामाथि प्रकाश पार्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमको प्रयोग गर्ने क्रममा वृत्तचित्र समेत बनाइएको बताए। उनले वृत्तचित्रले अंग फेल हुने अवस्था, अंगदानको महङ्कवको बारेमा सरल ढंगबाट आम सर्वसाधारणलाई बुझाउन सहज हुने उनले बताए।

वृत्तचित्रको निर्देशक सह्राना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसको सहभागिता नभएको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव भएको औल्याउँदै त्यसलाई चिर्नका लागि वृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गरिन्। मन्त्रालयका सचिव गुरागाईंले मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी कार्यलाई अभियानको रुपमा देशव्यापी रुपमा फैलाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताइन्।

कार्यक्रममा किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठलगायतका कलाकारले मरणोपरान्त अंगदानको घोषणा गरेका छन्। उनीहरुले शरीरका सबै अंग दान दिने घोषणा गरेका हुन्। मन्त्री बस्नेतले कलाकारको यस्तो घोषणाले समाजमा सकारात्मक सन्देश जाने जनाउँदै अंगदान घोषणा गरेका कलाकारलाई कार्ड प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्