पूरन राईद्वारा स्कटल्याण्डका बक्सर नकआउट



काठमाडौं । नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगितामा स्कटल्याण्डकै बक्सरलाई टेक्निकल नकआउट गर्दै उपाधि जितेका छन् ।

२२ वटा राष्ट्रिय बक्सिंग प्रतियोगितामा स्वर्ण पदक जितिसकेका राईले शनिवार स्कटल्याण्डमा भएको रम्बल इन द जंगल प्रतियोगितामा स्कटिश मुक्केबाज रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेका हुन् । जितपछि पुरनले युबीए स्कटल्याण्ड टाइटल बेल्ट पनि हात पारेका छन् ।

२ सय २० एमेच्योर फाइट खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छन् । ’यसले नयां पुस्तालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ’,–उनले भने ।

उक्त जितपछि उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन् । सन् २०१९ मा नेपालमा नै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पनि उनले कांश्य पदक जितेका थिए । त्यसैगरी नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए, यूबीओ वल्र्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन् ।

त्यस्तै अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ । उनको विपक्षी केही दिनअघि घाइते भएकोले म्याच रद्द भएको म्याक्सले जानकारी दिए । उक्त प्रतियोगितामा सहभागी हुन तीन नेपाली मुक्केबाज स्कटल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्