न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो



लन्डन, (एजेन्सी) । न्युजिल्यान्ड महिला विश्वकप प्रतियोगितामा समूह चरणबाटै बाहिरिनुको पीडाले न्युजिल्यान्डका खेलाडीले आँसु लुकाउन सकेनन् । एक त न्युजिल्यान्ड प्रतियोगिताको सहआयोजक समेत हो । तर, घरेलु दर्शक र मैदानको लाभ हुँदाहुँदै पनि न्युजिल्यान्डको यात्रा समूह चरणसम्मै रह्यो ।

न्युजिल्यान्डले राम्रो खेलेको पनि हो । तीन खेलबाट एक जितसँगै ४ अंक जोडेको न्युजिल्यान्डको टोली गोलभिन्नताकै आधारमा नकआउट पुग्न सकेन । नर्वेलाई पहिलो खेलमा स्तब्ध गरेको न्युजिल्यान्डका खेलाडी र दर्शकले नर्वे अन्तिम १६ मा पुगेको हेर्नु पर्दा पनि पीडा थपिएको थियो ।

न्युजिल्यान्डले स्विट्जरल्यान्डविरुद्धको खेलमा जित हात पार्नु पर्ने दवाव थियो । गोल नै गर्न नसकेपछि यो खेल गोलरहित बराबरीमा टुंगियो । यो नतिजाले स्विटजरल्यान्डलाई ५ अंकसहित अन्तिम १६ मा पु¥यायो । उता अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलअन्तरले हरायो । यो फराकिलो जितले नै १९९५ को विजेता टोली नर्वेलाई अन्तिम १६ को यात्रा तय गरायो ।

न्युजिल्यान्डको यो छैटो महिला विश्वकपमा सहभागिता थियो । पछिल्ला १५ खेलमा जित निकाल्न नसकेको न्युजिल्यान्डले यो विश्वकपमा भने पहिलो खेलमै जित निकालेर सनसनी मच्चायो । नर्वेलाई नै हराएपछि न्युजिल्यान्डले यस पटक इतिहास रच्ने धेरैको अपेक्षा थियो । तर, दोस्रो खेलमा फिलिपिन्ससँग १–० ले हार्न पुग्यो । यो नतिजा न्युजिल्यान्डको लागि दुर्भाग्य बन्यो । समूह ए बाट स्विटजरल्यान्ड र नर्वे अन्तिम १६ मा पुग्दा न्युजिल्यान्ड र फिलिपिन्स बाहिरिए ।

मोरोक्कोको पहिलो जित

मोरोक्कोले महिला विश्वकप पहिलो जित निकाल्ने क्रममा दक्षिण कोरियालाई स्तब्ध तुल्यायो । इब्टीसाम जराइडीले मोरोक्कोको लागि छैटो मिनेटमा गोल गरेकी थिइन् । जराइडी मोरोक्कोको तर्फबाट महिला विश्वकपमा गोल गर्ने पहिलो खेलाडी समेत बनिन् ।

उनको यही गोललाई अन्त्यसम्म सुरक्षित गरेर मोरोक्कोले विश्वकपमा पहिलो जित निकाल्न सफल भयो । मोरोक्को पहिलो खेलमा जर्मनीसँग ६–० गोलअन्तरले हारेको थियो । अफ्रिकी टोलीको अर्को खेल कोलम्बियासँग हुनेछ ।

कोलम्बिया अन्तिम १६ मा

समूह एच कै आइतबार भएको खेलमा जर्मनीले कोलम्बियासँगको खेलमा हार टार्न कोशिस गरेपनि कोलम्बियाले सफल हुन दिएन । कोलम्बिया ८८ औं मिनेटसम्म १–० ले अग्रता लिँदै अन्तिम १६ को स्थान सुरक्षित गरिसकेको थियो । तर, ८९ औं मिनेटमा जर्मनीले प्राप्त पेनाल्टी किकलाई एलेक्सान्ड्रा पोपले गोलमा परिणत गरेपछि खेल १–१ बराबरीमा पुग्यो ।

खेल बराबरीमा सकिनैलाग्दा कोलम्बियाका लागि म्यानुल भानेगासले गोल गरिन् । यो गोलसँगै कोलम्बिया २–१ ले खेल जित्दै अन्तिम १६ मा पुगेको छ । कोलम्बियाको यो लगातार दोस्रो जित हो भने जर्मनीको दुई खेलमा पहिलो हार थियो । साथै जर्मनीले १९९५ विश्वकपदेखि समूह चरणमा हार व्यहोरेको थिएन् ।

एक टोलीको सम्भावना

समूह एच बाट कोलम्बिया अन्तिम १६ मा पुगेपछि बाँकी तीन टोलीबिच अर्को चरणमा पुग्ने संभावना बनेको छ । दक्षिण कोरिया अंकविहीन छ भने जर्मनी र मोरोक्कोको ३÷३ अंक रहेको छ । समूहको अन्तिम चरणको खेलमा जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ भने मोरोक्कोको सामना कोलम्बियासँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्