सारुकको मोबाइलमा भेटियो सुसाइड नोट- यहीँ इन्ड हुनु थियो, सो सकियो

सारुकका पिता आईसीयूमा



गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याब परीक्षणमा उनको मोबाइलमा सुसाइड नोट फेला परेको हो। करिब एक पाना लामो नोटमा उनले आफ्नो साथीहरु र परिवारलाई सम्झदै आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई दोष नदिन आग्रह गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ।

इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेस्ट इन पिस, धन्यवाद उनको सुसाइड नोटमा लेखिएको छ। प्रहरीले मोबाइल परीक्षणबारे थप जानकारी भने गराएको छैन। सारुकलाई घरको भर्याङमा झन्डिएको भेटिएपछि उनको परिवारले प्रहरी वृत्त मालीगाउँलाई खबर गरेको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो।

सामाजिक सञ्जालमार्फत पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र मलिना जोशी तथा अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकर्मीले ताम्राकारको आत्महत्याबारे निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न आवाज उठाएका थिए भने नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर छानबिनका लागि दबाब दिएको थियो। सारुकको मृत्यु प्रकरणमा छानबिन गर्न चौतर्फी दबाब परेपछि प्रहरीले ताम्राकारको आत्महत्या सम्पर्कमा रहेकाहरुसँग बयानसमेत लिएको छ।

गत जेठ २२ गते छायांकन शुरु भएको फिल्म ह्यासट्याग मायामा नम्रताको योगगुरुको भूमिका भएको तथा उनले क्यारेक्टरमा रहन गाह्रो हुन्छ मेरो लागि बाहिर बस्ने व्यवस्था मिलाइदिनु भनेपछि बुढानीलकण्ठमा एक लाख तीस हजारदेखि डेढ लाखसम्म तिर्ने गरी नम्रताको लागि भाडाको घर लिइदिएको र सो घरमा शुरुमा नम्रता र सारुक बस्ने गरेकोमा पछि फिल्मका अर्का अभिनेता रोयदीप पनि थपिएपछि उनीहरु निर्मल पूर्जाको सोही घरमा बस्ने गरेको फिल्मका निर्माता निर्देशक राजीव गुरुङले बताएका छन्। सारुकले आत्महत्या गर्नुअघि सुटिङ भएको घरको माथिल्लो तल्लामा नम्रता र सारुकबीच झगडा भएको पनि उनले खुलाएका थिए।

सारुकका पिता आईसीयूमा

अभिनेता सारुक ताम्रँकाकार कलाकार तथा जादुगर पिता सानु ताम्राकारको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको नर्भिक अस्पतालको आईसीयूमा उपचार जारी रहेको छ। बोल्न र चल्न नसक्ने अवस्थामा रहेका उनलाई भेटघाट गर्नसमेत बन्द गरिएको निरौलाले जानकारी गराए। सानुको नजिकका मित्र अभिनेता कृष्ण मल्लले सानु सारुकको आत्महत्याको पीडाका कारण बिरामी परेको जनाएका छन्। ञसबैका प्रिय सानु ताम्राकारजी सारुकको मृत्युपछि अत्यन्त पीडामा परेर नर्भिक अस्पतालको आईसीयूमा भर्ना हुनुभएको खबर छ, उनले फेसबुकमा लेखेका छन्।

सारुकको आत्महत्या प्रकरणको छानबिन सुस्त भएको भन्दै उनको परिवार र कलाकार संघले प्रहरीमा पुगेर सारुकको छानबिनलाई निष्कर्षमा पुर्याउन दबाब दिएको थियो।

प्रतिक्रिया दिनुहोस्