मेसीको गोलमा मायमीको जित



लन्डन, (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेसीले गोल गरेपछि इन्टर मायामीले जित दर्ता गरेको छ ।

मेसीले उत्कृष्ट प्रदर्शन गर्दा इन्टर मायमीले एट्लान्टा युनाइटेडलाई पराजित गर्दै लिग्स कप २०२३ को नकआउट चरणमा प्रवेश गरेको हो । मंगलबार सम्पन्न खेलमा मायमीले ४–० गोलअन्तरको जित हासिल गर्दै साउथ समूह ३ को विजेता बनेको हो । मायामीको जितमा पहिलो पटक सुरुवाती रोजाइमा खेलेका फरवार्ड मेसीले दुई गोल र एक असिस्ट प्रदान गरेका थिए । उनले पहिलो हाफमै दुई गोल गरेका थिए ।

यस जितसँगै मायमी समूह विजेताको रुपमा लिग्स कपको राउन्ड अफ ३२ मा प्रवेश गरेको छ । मायामीको दुई खेलमा ६ अंक छ । अब समूहको अन्तिम खेलमा क्रुज अजुल र एट्लान्टा युनाइटेडले उपविजेता बन्दै अर्को चरण पुग्न प्रयास गर्नेछन् । खेलको आठौँ मिनेटमा मेसीले गोलको खाता खोले । सर्जियो बुस्केट्सको लामो पासलाई पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा मेस्सीले पुनःविपक्षी खेलाडीभन्दा अघि पुगेर सहज फिनिस गरे ।

खेलको २२औं मिनेटमा मेसीले अग्रता दोब्बर पारे । उनले आफैं मिडफिल्डबाट सुरु गरेको मुभलाई फिनिस गरेका थिए । रोबर्ट टेलरको लो क्रसलाई मेस्सीले गोलमा परिणत गरेका थिए । ४४औं मिनेटमा टेलरले मायामीलाई ३–० ले अघि बढाए । मेसीको पासमा बेन्जामिन क्रेसान्सीले दिएको फ्लिकमा टेलरले सुन्दर भलीमार्फत गोल गरेका थिए । ५४औं मिनेटमा मेसीको पासमा टेलरले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८४औं मिनेटमा एट्लान्टाले सान्त्वना गोल फर्काउने अवसर पाएको थियो । क्रिस्टोफर मकेभीले पेनाल्टी क्षेत्रभित्र फल गर्दै रातो कार्ड पाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनी मिडफिल्डर थियागो अल्माडाको प्रहार गोलरक्षक ड्रेक क्यालेन्डरले जोगाए ।

लिग्स कपमा अमेरिकी र क्यानाडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दछन् । सहभागी ४७ मध्य ४५ टोलीलाई तीन–तीन टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् । मेसी सम्मिलित इन्टर मायामी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एट्लान्टा युनाइटेड एफसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्