महानगर भदौमा



महानगर (वन नाइट इन काठमाडौं) नामक फिल्म भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको फिल्ममा कर्मा र मेनुका प्रधान मुख्य भूमिकामा छन्। फिल्ममा लेखन र निर्देशन मोहन राईको छ। सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वल्र्ड प्रिमियर भएको फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्टिझय फिल्म फेस्टिभल, वासिङ्टन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा स्क्रिनिङ भइसकेको छ। यसका साथै इन्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि महानगर छनोट भएको छ।

फिल्मले निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, पटकथा, अभिनय र निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरमाअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो। साथै इन्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा फिल्मले मस्ट इन्सिपिरेस्नल थिम अवार्ड तथा कर्माले अभिनयका लागि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए।

निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि फिल्म प्रदर्शन गर्न लागेको जनाए। उनले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको जनाए। महानगरको मुख्य पात्रझैं नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौं आएको थिए। काठमाडौंमा बाहिरिया भएर बाँच्नु र संघर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारु भन्ने सोचले महानगर बनाएको हो तर खासमा यो फिल्म ह्युमन कनेक्सन र होपबार हो । राईले भने।

माउन्टेन रिभर फिल्म्स् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र परीक्षित झाको सम्पादन रहेको छ। फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन्। फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्