खेलाडी संघको एन्फालाई ध्यानाकर्षण पत्र



काठमाडौं । नेपाली फुटबलरको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

वर्तमानको समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराउने क्रममा एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिल पत्र बुझाएका हुन् । पत्रमा यू–१६ लिग, बी डिभिजन र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ कि ए डिभिजनका १० क्लबहरु समावेश भएर सुरु भएको एन्फा यू–१६ युथ लिग अकस्मात रोकिएको छ । यसैपनि तोकिएकोभन्दा ४ ओटा क्लब कम समावेश हुँदा कम खेलाडीले अवसर पाए । अब सुरु भइसकेको लिग पनि बिचमा रोकिँदा खेलाडीको मानसिक स्वास्थ्यमा पनि असर परेको छ । बाहिर जिल्लाबाट लिग खेल्नकै लागि पढाइलाई विश्राम दिएर आएको देख्दा हाम्रो प्रतियोगिता आयोजनाको संरचनानै बदल्नुपर्ने हो कि भन्ने प्रश्न पनि उठेको छ । अझ लिग खेल्न आएका खेलाडीलाई हामीले के उत्तर दिने? एन्फाले यसबारे छिटो भन्दा छिटो उचित निर्णय लिनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

यसैगरी पत्रमा अर्को बूँदा यस्तो उल्लेख गरिएको छ—. पटक पटक मिति तोक्दा पनि बी र सी डिभिजन लिग संचालन हुन सकेको छैन । अधिकांश क्लबले अन्तिम तयारी नै सुरु गरेको अवस्थामा लिग नहुँदा खेलाडीको भविष्य नै अन्यौलमा परेको छ । घरेलु फुटबलको मेरुदण्ड मानिएको लिग पिरामिडमा बी र सी डिभिजनको पनि ए डिभिजन जतिकै महत्त्व रहेको छ । एन्फालाई अबिलम्ब बी र सी डिभिजन लिगको मिति तोकेर क्लबहरुलाई तयारी सुरु गर्ने वातावरण गराइदिनुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्