मेसीले डेब्यु म्याचमै गरे विजयी गोल



वाशिंटन, (एजेन्सी) । अर्जेन्टिनाका विश्वचर्चित स्टार खेलाडी लियोनल मेसीले अमेरिकन मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलेको आफ्नो डेब्यु खेलमै विजयी गोल गरेका छन् ।

शनिबार विहान भएको लिग कपमा इन्टर मायामीले क्रुज अजुललाई २–१ गोलअन्तरले हराउँदा मेसीले उक्त विजयी गोल गरेका थिए । समूह ‘जे’ को खेलमा मायामीलाई जिताउन रोबर्ट टेलर र मेसीले गोल गरेका थिए । खेल १–१ को अवस्थामा मेसीले विजयी गोल गरेका थिए ।

भिआरभी पिएनके मैदानमा मेसीले ५१औं मिनेटमा डेब्यु गरेका थिए । ९० मिनेटपछिको इन्जुरी समयमा आफैलाई डी बक्सबाहिर लडाएपछि पाएको फ्रिकिकलाई मेसीले सदुपयोग गरेका थिए । मेसीले क्रसबार च्यापेर हानेको प्रहार सिधै जाली चुमेको थियो । जितपछि मायामी तीन अंकसहित शीर्षस्थानमा रहेको छ ।

त्यसअघि खेलको ४४औं मिनेटमा टेलरले गोल गर्दै मायामीलाई अग्रता दिलाएका थिए । ६५औ मिनेटमा उरियल अन्तुनाले गोल गर्दै क्रुजलाई बराबरीमा ल्याएका हुन् । मेसीले विजयी गोलपछि आफु खुसी भएको बताएका छन् । ‘डेब्यु गोलमा म धेरै खुसी छु,’ मेसीले भनेका छन् । खेलमा इन्टरले बल पकड बनाएपछि फिनिसिङमा चुकेको थियो ।

हजारौ दर्शकमाझ मेसीसहित सर्जियो बुस्क्वेटले पनि मायामीको लागि डेब्यु गरेका छन् । स्पेनिस महारथी बार्सिलोनाका पूर्व खेलाडीद्वय मेसी र बुस्क्वेटले अघिल्लो साता मायामीमा अनुबन्ध भएका थिए ।

मेसी दुई वर्ष पेरिस सेन्ट जर्मेनको बसाईपछि अमेरिका पुगेका हुन् । उनलाई अनुबन्ध गर्न साउदी प्रो लिग क्लबहरु तयार थिए । तर, मेसीले अमेरिका रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्