अमेरिकाको भियतनाममाथि प्रभावहीन जित



लन्डन, (एजेन्सी) । लगातार तेस्रो उपाधिको लक्ष्य राखेको अमेरिकाले महिला विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।
न्युजिल्यान्ड र अस्टे«लियाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत खेलमा अमेरिकाले भियतनामलाई ३–० ले हराएको हो । करिब ४२ हजार दर्शकसामु अमेरिकाले जितेको हो । जबकी भियतनाम पहिलो पटक विश्वकपमा खेलिरहेको टोली हो । अमेरिका भने चार पटकको विश्व विजेता टोली हुनुका साथै वरियतामा शीर्ष स्थानको समेत हो । तर, नयाँ टोलीविरुद्ध अमेरिकाको यो जित त्यति प्रभावकारी नभएको फुटबल विज्ञहरुले बताएका छन् ।

चार वर्षअघि फ्रान्समा सम्पन्न विश्वकपमा अमेरिकाले कमजोर टोलीमाथि शानदार जित हात पारेको थियो । त्यतिबेला अमेरिकाले थाइ्रल्यान्डलाई १३–० गोलअन्तरले पराजित गरेको थियो । यो फराकिलो जित पुरुष वा महिलाको विश्वकपमा अहिलेसम्मकै ठूलो जित हो । अमेरिकाले भियतनामको पोस्टमा २८ पटक खतरनाक आक्रमण गर्दा पनि गोलको संख्या बढाउन सकेन ।

अमेरिका न्युजिल्यान्डमा उपाधि दावेदार टोलीको रुपमा पुगेको हो । अमेरिकाले बिहीबार हुने खेल प्रतिस्पर्धात्मक हुने संभावना छ । अमेरिकाले वेलिंगटनमा नेदरल्यान्डस्विरुद्ध खेल्नेछ । गत विश्वकप २०१९ मा अमेरिका र नेदरल्यान्ड्सले फाइनल खेलेका थिए । जसमा, अमेरिकाले उपाधि जितेको थियो ।

जापानको ५ गोल

जापानले महिला विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा डेब्यु गरेको टोली जाम्बियामाथि ५–० को शानदार जित निकाल्यो । अन्त्यतिर जाम्बियाकी गोलकीपर क्याथरिन मुसोन्डा दोहोरो पहेँलो कार्ड आत्मसात गर्दै मैदान बाहिर जानु परेकी थिइन् ।

मुसान्डाले रातो कार्ड पाएपछि उनको स्थानमा युनिस सकाला आएकी थिइन् । सकालाले रिको युएकीको पेनाल्टी बचाइन् तर, उनी गोलरेखा भन्दा बाहिर रहेकी भन्दै दोस्रो पटक पेनाल्टीको अवसर जापानलाई दिइएको थियो । यस पटक भने युएकी चुकिनन् ।

यो जितसँगै जापान समूह सी मा शीर्ष स्थानमा छ । गोलभिन्नताको आधारमा स्पेन भने दोस्रो स्थानमा रहेको छ । स्पेनले कोस्टा रिकालाई ३–० ले हराएको थियो । जापानले ५ गोल गरेको हुनाले स्पेन दोस्रो स्थानमा रह्यो ।

यसैगरी युरोपेली विजेता टोली इंग्ल्यान्डले डेब्यु गरेको टोली हाइटीमाथि जित हात पार्न कठिन भएको थियो । इंग्ल्यान्डले यो खेल १–० ले जितेको थियो । जर्जिया स्टानवेले २९ औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोलको सहारामा इंग्ल्यान्डले जितबाट प्रतियोगिता शुरुवात गरेको थियो ।

अमेरिकी टोलीको केही तथ्य

—अमेरिका फिफा महिला विश्वकपमा एशियाली प्रतिद्वन्द्वीविरुद्ध १६ खेलमा अपराजित ।
—अमेरिकाले फिफा विश्वकपमा लगातार १३ खेलमा जित हासिल गरेको । अमेरिका २०१५ देखि अपराजित ।
—अमेरिकाविरुद्ध भियतनामले प्रतिद्वन्द्वीको बक्समा बल नलगेको, महिला विश्वकपमा यो पहिलो अवसर बन्यो ।

प्रतिक्रिया दिनुहोस्