पोखरामा देखाइयो करेसा कन्सर्ट



पोखरा । पोखरामा शनिबार नाटक करेसा कन्सर्ट मञ्चन भएको छ।

यसअघि, बुकिङ सोमार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर पब्लिक सोमा मञ्चन गरिएको हो। नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भएको हो। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकमा करेसाबारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ।

नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडा बनेर रोशनी रामदाम, लसुन बनेर दीपसना विश्वकर्मा, साग बनेर अनुशा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान तानेका छन्। एक घण्टा १० मिनेटको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत रहेको छ। संगीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ। नाटकका लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसाबारी निर्माण गरिएको छ।

केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो। नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए। नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण भएको जनाए। पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिए पनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महङ्कवपूर्ण भएकाले पब्लिक सोको रुपमा मञ्चन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्