नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको साथ



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्नको लागि युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मंगलबार प्रायोजन सम्झौता भएको छ ।

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिइन् । एन्फा अध्यक्ष नेम्वाङले पनि प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिए । उनले यो सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायको रुपमा रहने बताए ।

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताए । उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

प्रतिक्रिया दिनुहोस्