पहिलो महिला विश्वकपमा अमेरिका विजेता



काठमाडौं । यसपटकको महिला विश्वकप यही विहीबारदेखि अस्टे«लिया र न्युजिल्यान्डमा शुरु हुँदैछ । महिला विश्वकप प्रतियोगिता पहिलोपटक सन् १९९१ मा भएको थियो । यो फिफा वल्र्ड च्याम्पियनसिप फर वोमेन्स फुटबल फर द एमएन्डएम्स कप को नामबाट सञ्चालन गरिएको थियो । यो नाम धेरै लामो भएपछि यसलाई वल्र्ड कप यानि विश्वकप भनियो । यसमा खेलको समयअवधि ८० मिनेटको थियो ।

महिला फुटबलमा ९० मिनेटको खेल १९९५ को संस्करणदेखि शुरु भएको थियो । यो प्रतियोगिता स्विडेनमा भएको थियो । प्र्रत्येक खेलमा दुई मिनेट टाइम आउट पनि गरिएको थियो । यसमा अस्टे«लियाले सबैभन्दा बढी यो समय प्रयोग गरेको थियो । उनीहरूको तीन खेल भएको थियो उनीहरूका कोच टम सेमानीले प्रत्येक खेलमा दुई मिनेटको टाइम आउट लिएका थिए ।

१९९१ को विश्वकप फाइनलमा अमेरिका र नर्वे पुगेका थिए । ग्वान्जाउमा भएको फाइनल खेल हेर्न करिब ६३ हजार दर्शक थिए । यो खेल २–१ ले जितेर अमेरिकाले पहिलो विश्वकप उपाधि जित्यो । अमेरिकामा पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा संघर्ष गरिरहेको अवस्थामा महिला टोलीले विश्वकप नै जितेर सबैलाई आश्चर्यमा पारेको थियो ।

यतातिर नर्वेको फाइनल यात्रा आश्चर्यचकित गर्ने खालको थियो । नर्वे समूह चरणमा आयोजक टोली चीनसँग ४–० ले पराजित भएको थियो । समूहमा अर्का दुई टोली न्युजिल्यान्ड र डेनमार्कलाई हराएर नर्वे नकआउट चरणमा पुगेको थियो । चीन शसक्त नै देखिएको थियो । यो टोलीले न्युजिल्यान्डलाई ४–१ ले पराजित गर्दा डेनमार्कसँग २–२ बराबरी खेलेको थियो ।

नकआउट चरणमा पुग्दा चीनको दुर्भाग्य भयो । स्विडेनसँग १–० ले पराजित भएर चीन प्रतियोगिताबाटै बाहिरियो । नर्वेले भने इटालीलाई अतिरिक्त समयमा ३–२ ले हराएर सेमिफाइनलमा स्थान बनायो । सेमिफाइनलमा स्विडेनलाई ४–१ ले हराएर नर्वेले सनसनी मच्चायो । अर्को सेमिफाइनलमा अमेरिकाले जर्मनीलाई ५–२ ले पराजित गरेको थियो ।

फाइनलमा नर्वेले अमेरिकालाई दरो चुनौती दिएको थियो । पहिलो गोल अमेरिकाबाट भएको थियो । मिचेल एने एकेर्सले २०औं मिनेटमा गोल गरेकी थिइन् । यसको ९ मिनेटमा लिन्डा मेडालेनले गोल फर्काएर खेल १–१ बराबरीमा ल्याइन् । खेल अतिरिक्त समयमा पुग्ने अग्रसर भइरहेको थियो । तर, एने एकेर्सले ७८ औं मिनेटमा गोल गरेर अमेरिकाको उपाधि पक्का गरेकी थिइन् । उनले प्रतियोगितामा सर्वाधिक १० गोल गरेर सुनको जुत्ता जितेकी थिइन् । तेस्रो स्थानको लागि भएको खेलमा स्विडेनले जर्मनीलाई ४–० ले हराएको थियो ।

अमेरिकाले चार पटक जित्यो

अमेरिकाले समग्रमा ५ पटक विश्वकप जितिसकेको छ । पहिलो विश्वकप जितेपछि दोस्रोमा नर्वेले जितेको थियो । तेस्रो विश्वकप १९९९ मा अमेरिकामै आयोजना भएको थियो । अमेरिकामै भएको हुँदा यो उपाधि आयोजक राष्ट्रले नै जित्यो । अमेरिकाले फाइनलमा चीनलाई हराउन अतिरिक्त समयसम्म पुग्नु परेको थियो ।

यसपछि अमेरिकाले १६ वर्षपछि विश्वकप जित्न सफल भयो । तेस्रो उपाधि जित्न अमेरिकाले धेरै लामो समय कुर्नु परेको थियो । २०१५ मा क्यानडामा भएको विश्वकप अमेरिकाले जापानलाई ५–२ ले हराएर जितेको थियो । जबकी यही जापानले अमेरिकालाई २०११ को विश्वकपमा पेनाल्टी शूटआउटमा पराजित गरेर उपाधि जितेको थियो ।

अमेरिकाले २०१९ को विश्वकप पनि जितेको छ । यसपटक पनि जितेमा अमेरिका महिला विश्वकप उपाधिमा ह्याट्रिक गर्ने टोली बन्नेछ । साथै पाँचौ पटक उपाधि जितेर एक नयाँ कीर्तिमान पनि बनाउनेछ । जुन कीर्तिमानलाई तोड्न कठिन पनि हुन सक्नेछ । हालसम्म अमेरिकापछि जर्मनीले दुई पटक विश्वकप जितेको छ भने नर्वे र जापानले एक–एक पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्