विम्बल्डनमा हारेपछिको पीडा



लन्डन, (एजेन्सी) । चेक रिपब्लिककी याना नोभात्ना १९९३ मा, स्विटजरल्यान्डका रोजर फेडेरर २००८ मा र ब्रिटेनका एन्डी मुरे २०१२ मा विम्बलडन टेनिस उपाधिबाट विमुख हुँदा रोएका थिए । विम्बल्डन टेनिस चार ग्रान्डस्लाममध्ये एक प्रतियोगिता हो । यसको फाइनल खेल लन्डनस्थित सेन्टर कोर्टको ग्रासे मैदानमा हुन्छ । सेन्टर कोर्टमा फाइनल हेर्ने दर्शक अधिक संख्यामा आउँछन् । फाइनलमा पराजित भएका खेलाडीको आँसु देख्दा दर्शकको आँखा पनि रसाउछँ र सहानुभुति हारेको खेलाडीमाथि नै अत्यधिक हुने गर्छ ।

यस्तै घटना गएको शनिबार विम्बल्डन टेनिस प्रतियोगितामा फेरि घट्यो । महिला सिंगल्सको फाइनल थियो, खेलाडी ट्युनिसियाकी ओन्स जेबेउर र चेककी मार्केटा भोन्डरुसोभा थिए । ओन्स फाइनलमा पराजित भइन् । उनी रुन थालिन् र उनको आँसु देखेर सबै भावुक पनि बने । उनी रुन पनि किन नरोस त ? गत वर्ष पनि फाइनलमा उनी पराजित भएकी थिइन् ।

लगातार दुई वर्ष त्यही ठाउँमा पराजित हुनु पर्दा यसको पीडा असह्य हुन्छ नै । ११ वर्षअघि फाइनलमा पराजित भएका ब्रिटेनका मुरेले बताए—आँसु लुकाउन सकिँदैन, यसो गर्न सजिलो पनि हुँदैन । म पनि यस्तै अवस्थाबाट गुज्रिसकेको छु ।

३० वर्षअघि नोभोत्ना स्टेफी ग्राफसँग फाइनलमा हारेपछि केन्टकी डचेसको काँधमा अनुहार राखेर रोएकी थिइन् । त्यतिबेला यो विम्बल्डनको एक बिर्सन नसक्ने क्षण बनेको थियो । यसपटक ओन्सलाई सान्त्वना दिनेमा वेल्सकी राजकुमारी छिन् । २८ वर्षीया ओन्सले राजकुमारीबारे बताइन्—उनले मलाई अंगालो मारेर सान्त्वना दिइन् । म त उनको अंगालोको स्वागतमा थिएँ ।

ओन्सले यस वर्षको अस्टे«लियन ओपन विजेता एरिना सबालेन्का हारेपछि विम्बल्डन जित्ने छनक देखाएकी थिइन् । उनी यो उपाधि जितेर ग्रान्डस्लाम उपाधि जित्ने पहिलो अरब वा अफ्रिकी महिला खेलाडी बन्नेतिर पनि थिइन् । तर, फाइनलमा उनको केही लागेन । वरियताविहीन चेककी खेलाडी भोन्डरुसोभो उपाधि जितिन् । यो ओन्सको तेस्रो ग्रान्डस्लाम फाइनल पराजय थियो । उनले बताइन् पनि—यो मेरो सबैभन्दा पीडादायक हार हो ।

हारपछि mओन्स लकर रुममा चार पटकको ग्रान्डस्लाम विजेता किम क्लाइस्टर्ससँग रोएकी थिइन् । बेल्जियमकी क्लाइस्टर्स पनि ओन्सकै जस्तो पीडा बेहोरिसकेकी खेलाडी हुन् । उनले चार ग्रान्डस्लाम फाइनल हारेपछि २००५ मा पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी थिइन् । क्लाइस्टर्सले ओन्सको पीडा राम्ररी बुझेकी छिन् ।

क्लाइस्टर्सले ओन्सलाई हौसला दिन भनिन्—खेलमा यो सबैभन्दा कठिन समय हो । ओन्स उपाधि जित्नेमा दावेदारी थिइन् । प्रतियोगिता जित्ने चरणमा आएर उनी किन नर्भस हुन्छिन् ।

मुरेले २०१२ मा पराजित भएको एक वर्षपछि उपाधि जिते । नोभोत्नाले ५ वर्षपछि उपाधि जितिन् भने फेडेररले २००८ मा नाडालसँग हारेपछि विम्बल्डनमा तीन अरु उपाधि जिते । ओन्सले यी महान खेलाडीको जस्तै उनको पनि उपलब्धि हुने आसा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्