पुलिस र हेल्प नेपालले उचाले उपाधि



काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा उपाधि उचालेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको फाइनलमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुलिसले पहिलो सेट २५–१२ ले जितेको थियो । तर दोश्रो सेट २१–२५ ले एपिएफलाई सुम्पन पुग्यो । खेल १–१ को बराबरीमा पुगेपछि पुलिसले खेलमा सुधार गर्दै तेश्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै ६ लाख नगद सहित उपाधी उचाल्न सफल भयो ।

फाइनलमा पराजित भएको एपिएफले नगद ३ लाख प्राप्त ग¥यो । यस्तै तेश्रो स्थानमा रहेको होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको फाइनलमा हेल्प नेपालले पुलिसलाई पराजित गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । दोश्रो सेट पुलिसले २५–११ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बरावरीमा पु¥यायो । तर तेश्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधी जित्यो ।

पाधीका साथ हेल्प नेपालले नगद ६ लाख र उपबिजेता पुलिसले नगद ३ लाख प्राप्त गरे । तेश्रो स्थानको आर्मीले १ लाख ५० हजार तथा चौथो स्थानको एपिएफले ७५ हजार नगद प्राप्त गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषतर्फ हेल्प नेपालका अईमल खान घोषित भए । उनीहरुले जनही ३५ हजार नगद प्राप्त गरे । विधागततर्फ पुलिसका शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक तथा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।

पुरुष तर्फ हेल्प नेपालका टोप बहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गा बहादुर खड्का घोषित भए । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १५ हजार प्राप्त गरे । पुलिसका सुमित्रा रेग्मी र पुलिसका रविन चन्द उत्कृष्ट उदीयमान पुरस्कार पाएवापत समान १० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्