वार्ड चाहर्दा चाहर्दै बिरामीको मृत्यु



विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

असार २४ गते बिहान पेटमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपदीदेवी राजवंशी कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपीडीको वार्डमा त्यही दिन दिउँसो मृत्यु भयो ।

अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले राजवंशीको मृत्यु भएको परिवारको आरोप छ । राजवंशीलाई अस्पताल लिएर आएका छिमेकी देवन्तकुमार राजवंशीले उपचारमा ढिलासुस्ती भएको कारणले बिरामीको मृत्यु भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो– ‘शुरूमा हामीले आकस्मिक कक्षमा बिरामी लिएर आयौँ, त्यहाँ राम्रोसँग हेरेर विशेषज्ञ चिकित्सक बोलाएर उपचार शुरू गरेको भए बिरामीलाई बचाउन सकिन्थ्यो । तर, अस्पतालका स्वास्थ्यकर्मीले एकपछि अर्कोलाई देखाउन लगाउँदा बिरामीले ज्यान गुमाउनु¥यो ।’ यसरी उपचारमा ढिलासुस्ती गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग छ ।

लामो समयदेखि पेटको समस्या झेलिरहेका राजवंशीको केही समयअगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि अस्पताल पुगेकी राजवंशीको थप उपचार गर्न नपाउँदै निधन भएको छ । कोसी अस्पतालका मेसु डा. चन्द्रलाल झाले घटनाको विषयमा छानबिन समिति गठन गरेको बताउनुभएको छ । उहाँले पूर्व मेसु डा.यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्य समिति गठन भएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा थप प्रक्रिया अगाडि बढाउनेछौँ ।’

छानबिन समितिको नेतृत्व गर्नुभएका डा. खरेलले घटनको छानबिन शुरू गरेको जानकारी दिँदै भन्नुभयो– ‘प्रारम्भिक चरणको छानबिनले राजवंशीको सेप्सीसको कारणले मृत्यु भएको देखिन्छ । यो प्रारम्भिक अनुमान हो । गाइनोमा बिरामी पठाउने क्रममा बिरामीको मृत्यु भएको छ ।’ आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘आकस्मिक कक्षमा आएका बिरामीलाई त्यही औषधि चलाएर विशेषज्ञ चिकित्सकसँग समन्वय गरिनुपथ्र्याे । तर, आकस्मिक कक्षमा आएका बिरामीलाई गाइनो वार्डमा पठाएको देखियो । आगामी दिनमा यस्तो गल्ती सच्याउन हामीले सुझाव दिएका छौँ ।’ उहाँले आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पठाउनुपरे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पठाउन सुझाव पनि दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्