हेल्प नेपोल र आर्मीको रोमाञ्चक जित



काठमाडौं । टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबले जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा रोमाञ्चक जित निकालेका छन् ।

बुधबार पुरुषतर्फको खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ५ सेटमा पराजित गर्दा आर्मीले नेपाल एपीएफ क्लबमाथि जित हासिल गर्न पाँचै सेट खेल्नु परेको थियो । हेल्प नेपालले पुलिसलाई २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा हराएको थियो । यस्तै आर्मीले एपीएफलाई १८–२५, २५–१६, २४–२६, २८–२६ र १७–१५ ले पराजित गरेको थियो ।

२–२ सेट बराबरी भएपछि खेलको निर्णय निर्णायक सेटमा पुगेको थियो । यो सेटमा हेल्प नेपाल र पुलिसबीच कडा प्रतिस्पर्धा भएको थियो । २२–२२ अंकले बराबरी भएपछि हेल्प नेपालले लगातार दुई अंक बटुलेर जित पक्का गरेको थियो । जबकी निर्णायक वा पाँचौ सेट १५ अंक ल्याएमा जित हासिल हुने प्रावधान रहेको छ । तर, यसमा दुबै टोलीले गरी ४६ अंकको खेल भएको थियो ।

यसअघि तेस्रो सेट पनि लामो समय चलेको थियो । यसमा हेल्प नेपालले ३०–२८ ले जित्न सफल भएको थियो । यो जितले हेल्प नेपाललाई ४ खेलमा ११ अंकसहित शीर्ष स्थानमा राखेको छ ।

अर्को खेलमा पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेट जितेर एक –एक बराबरी गरेको थियो । तेस्रो सेट एपीएफले जित्यो भने आर्मीले चौथो सेट जितेर खेललाई निर्णायक सेटमा पु¥याएको थियो । यो सेटमा एपीएफका खेलाडीले सोचे जस्तो खेल देखाउन सकेनन् । यो सेट आर्मीले १७–१५ ले जितको थियो । जबकी एपीएफ १४–१२ ले अघि रहेर जित्न नजिक पुगिसकेको थियो । जितको लागि एक अंक मात्रै चाहिएको थियो ।

तर, आर्मीले एपीएफलाई कुनै मौका नदिएर जित निकाल्न सफल भयो । आर्मीले पहिला लगातार तीन अंक जोड्यो र १५–१४ को अग्रता बनायो । यसपछि एपीएफले एक अंक जोडेर बराबरी ग¥यो । आर्मीले यसपछि लगातार दुई अंक जोडेर जित हासिल गरेको थियो। आर्मीले बिहीबार पुलिसविरुद्ध खेल जितेमा फाइनलमा पुग्नेछ । एपीएफको लागि भने बाँकी दुबै खेल जित्नु पर्ने दवाव छ । एपीएफको हेल्प नेपाल र पुलिससँग खेल्न बाँकी छ ।

आर्मी ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ । हेल्प नेपाल पनि ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ ४ खेलमा ३ मा जित र १ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्