जोकोभिच कीर्तिमानतिर अघि बढ्दै



लन्डन, (एजेन्सी) । सर्बियाका नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जोकोभिच क्वार्टरफाइनलमा रुसका एन्ड्री रुबलेभलाई चार सेटमा हराएर अन्तिम चारमा पुगेका हुन् । पहिलो सेट रुबलेभले ६–४ ले जितेर जोकोभिचलाई कडा चुनौती दिएका थिए । तर, यसपछि जोकोभिचले सहजै लगातार तीन सेट क्रमशः ६–१, ६–४, ६–३ ले जिते ।

जोकोभिचले शुक्रबार इटालीका जानीक सिनरसँग खेल्नेछन् । जोकोभिचको लागि २४ औं ग्रान्डस्लाम उपाधि जित्ने मौका आएको छ । उपाधि जितेमा उनको यो आठौं विम्बल्डन उपाधि हुनेछ साथै उनी सर्वाधिक ग्रान्डस्लाम जितेको कीर्तिमानसँग बराबरीमा पनि पुग्नेछ ।

टेनिसको इतिहासमा पुरुष र महिला गरी सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान अस्टे«लियाकी महिला खेलाडी मार्गारेट कोर्टले राखेकी छन् । उनले २४ ग्रान्डस्लाम उपाधि जितेकी हुन् । तर, पुरुषतर्फ भने जोकोभिच नै सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । ३६ वर्षीय जोकोभिचले २३ ग्रान्डस्लाम उपाधि जितेका छन् ।

सिनर त्यही खेलाडी हुन्, जसले गत वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा जोकोभिचलाई हराउन तयार भइसकेका थिए । पहिलो दुई सेट सिनरले जितेका थिए । तर, यसपछि जोकोभिचले लगातार तीन सेट जितेर सिनरलाई निकै निरास पारेका थिए । यहाँबाट हार जोगाएका जोकोभिचले फाइनल पनि जिते ।

विम्बल्डनमा जोकोभिचले लगातार ३३ औं जित हासिल गरेका छन् । उनले २०१८ देखि हार बेहोरेका छैनन् । उनले विम्बल्डन उपाधि २०१८ देखि २०२२ सम्म गरी लगातार चार पटक जितेका हुन् । २०२० मा भने कोरोनाको कारण प्रतियोगिता रद्द गरिएको थियो । यसअघि २०११, २०१४ र २०१५ मा उनले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्