स्विटोलिना र भोडुरुसोभा सेमिफाइनलमा



लन्डन । युक्रेनकी एलीना स्विटोलिना र चेक गणतन्त्रकी मार्केटा भोन्डरुसोभा लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । मंगलबार भएको क्वार्टरफाइनल खेलमा स्विटोलिनाले पोल्यान्डकी आइगा स्वियाटेकको यात्रा ७–५, ६–७, ६–२ ले समाप्त गरेकी हुन् । स्वियाटेक महिला सिंगल्सकी नम्बर वान खेलाडी हुन् भने स्विटोलीनामा प्रतियोगितामा वाइल्डकार्डमार्फत् प्रवेश गरेकी हुन् ।

पहिलो सेट गुमाएकी स्वियाटेकले दोस्रो सेटमा ३–१ को अग्रता लिएकी थिइन् । यो अवस्थामा उनका लागि सेट १–१ बराबरीमा ल्याउने अवसर थियो । तर, स्विटोलिनाले उनको योजना भताभुंग पारिदिइन् । यो सेट टाइब्रेकरमा पुगेको थियो । जसमा स्विटोलिना ५ सर्भिसमा ४–१ को अग्रता लिएर जिततिर अग्रसर भएकी थिइन् ।

तर, स्वियाटेकले यो स्थितिलाई ४–४ को बराबरी अंकमा पु¥याइन् । स्विटोलिनाले एक अंक लिएर ५–४ अंकले अग्रता बनाइन् । तर, यसपछि भने स्वियाटेकले लगातार तीन अंक लिएर यो सेट ७–६ ले जितिन् । योसँगै खेलको निर्णय निर्णायक सेटमा पुग्यो । निर्णायक सेटमा भने स्विटोलीनाले कुनै गल्ती नगरी स्वियाटेकलाई स्तब्ध तुल्याइन् ।

यस्तै,अर्को क्वार्टरफाइनल खेलमा जित हात पार्दै भोन्डरुसोभा अन्तिम चारमा पुगिन् । उनी पहिलोपटक विम्बल्डन सेमिफाइनलमा पुगेकी हुन् । भोन्डरुसोभाले तीन सेटमा खेल जित्दै अर्को चरण पक्का गरेकी थिइन् । उनले अमेरिकाकी जेसिका पेगुलालाई ६–४, २–६, ६–४ ले हराएकी थिइन् ।

तेस्रो तथा निर्णायक सेटमा पेगुला ४–१ को अग्रता थिइन् । तर, उनले यसको फाइदा उठाउन सकिनन् । यो समयमा वर्षाले खेल केही क्षण रोकिएको थियो । जब खेल शुरु भयो यसपछि लगातार ५ गेम भोन्डरुसोभाले जितेर पेगुलालाई अन्तिम आठबाटै बाहिरिन बाध्य तुल्याएकी थिइन् । जितपछि भोन्डरुसोभाले बताइन्—मलाई साँच्चिकै के भयो भनेर केही थाहा भएन । म ४–१ ले पछि थिएँ । मलाई अदभुत महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्