महिला विश्वकप अर्को बिहीबारदेखि



काठमाडौं । महिलातर्फको फिफा विश्वकप फुटबल प्रतियोगिता यही अर्को साता बिहीबारदेखि शुरु हुदैछ । यो प्रतियोगिताको नवौं संस्करण हो । अस्टे«लिया र न्युजिल्यान्डद्वारा संयुक्त आयोजना हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक टोलीले खेल्नेछन् । अकल्यान्डस्थित इडेन पार्कमा न्युजिल्यान्डले नर्वेविरुद्ध खेल्नेछ । यस्तै सह आयोजक टोली अस्टे«लियाले रिपब्लिक आयरल्यान्डसँग सिड्नी स्टेडियममा खेल्नेछ ।

२० अगस्टमा फाइनल खेल हुने प्रतियोगितामा ३२ टोली रहेका छन् । यस पटक २४ बाट टोली बढाएर ३२ गरिएको हो । चार–चार टोली गरी आठ समूहमा विभाजित रहेको छ । समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । प्रतियोगितामा ६४ खेल हुनेछन् ।

यसपटक ८ टोली बिल्कुलै नयाँ रहेका छन् । हाइटी, मोरोक्को, पानामा, फिलिपिन्स, पोर्चुगल, रिपब्लिक आयरल्यान्ड, भियतनाम र जाम्बिया हुन् । भियतनामले नेपालमा आएर दुई खेल खेलेको थियो । जसमा दुबै खेलमा नेपाल पराजित भएको थियो ।

प्रतियोगिताका लागि अस्टे«लियामा ६ र न्युजिल्यान्डमा ४ गरी १० खेलस्थल रहेका छन् । अस्टे«लियामा सिड्नीका स्टेडियम अस्टे«लिया र सिड्नी फुटबल स्टेडियम, ब्रिसबेन स्टेडियम, मेलबर्न रेक्टेन्गुलर स्टेडियम, पर्थ रेक्टेन्गुलर स्टेडियम तथा एडिलेडस्थित हिन्डमार्श स्टेडियम रहेका छन् । न्युजिल्यान्डमा अकल्यान्डस्थित इडेन पार्क, वेलिङटन रिजनल स्टेडियम, डुनेडिनस्थित फोरसीथ बार स्टेडियम तथा हेमिल्टनस्थित वाइकाटो स्टेडियम रहेका छन् ।

को को दावेदारी ?

अमेरिकी टोली विश्वमा शीर्ष स्थानमा रहेको छ । अमेरिकाले चार पटक विश्वकप जितिसकेको छ । यसपटक यो टोलीको पाँचौ उपाधि जित्ने योजना हुनेछ । जितेमा यो कीर्तिमान बन्ने पनि बताइएको छ । अमेरिकी टोली उपाधि दावेदारीमा रहेको छ ।

तर, अमेरिकी टोलीका लागि जर्मन टोली कडा प्रतिद्वन्द्वीको रुपमा रहनेछ । जर्मनी युरो २०२२ को फाइनलिस्ट टोली पनि हो । युरोपियन च्याम्पियन इंग्ल्यान्ड पनि उपाधिको दावेदारीमा रहेको छ । तर, यो टोलीका प्रमुख खेलाडी घाइते छन् । यस्तै टोक्यो ओलम्पिकमा स्वर्ण पदक जितेको टोली क्यानडा पनि उपाधि दावेदारीमा उभिएको छ ।

प्रतिक्रिया दिनुहोस्