डुरान्ड कपमा त्रिभुवन आर्मीले खेल्ने



काठमाडौं । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्येको एक डुरान्ड कपमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले खेल्ने भएको छ ।

भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा दुई विदेशीसहित २४ टोलीको सहभागिता पक्का भएको आयोजकले जनाएको हो । जसमा नेपालबाट आर्मीले खेल्ने टुंगो लागेको हो । यसपटक विदेशी टोलीका रुपमा आर्मीसँगै बंगलादेश आर्मीले पनि सहभागिता जनाउँदै छ ।

प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउन लागेको हो । १ सय ३२ औं सस्करणको सो प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरु कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रंगशालामा हुनेछ । समूह ‘डी’ र समूह ‘इ’ का दुई बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा खेलाइने छ । कोक्राझारको साई सेन्टर रंगशालामा समूह ‘इ’ का दुई, समूह ‘एफ’ का खेल र एक क्वार्टरफाइनल गरी नौ खेल हुनेछन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुयिया प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा गोल्डेन बल, बुट र ग्लोभ्स जित्नेलाई जनही तीन लाख भारु प्रदान गरिने छ ।

डुरान्ड कपको समूह

समूह ‘ए’ :
मोहन बागान सुपर जायन्ट, ईस्ट बंगाल एफसी, राउन्डग्लास पञ्जाब, बंगलादेश आर्मी
समूह ‘बी’: मोहम्मदन स्पोर्टिङ क्लब, मुम्बई सिटी एफसी, जमशेदपुर एफसी, भारतीय नौसेना
समूह ‘सी’ : बेङ्गलुरु एफसी, केरला ब्लास्टर्स, गोकुलम केरला, भारतीय वायुसेना
समूह ‘डी’: नर्थइस्ट युनाइटेड एफसी, एफसी गोवा, शिलङ लाजोङ एफसी, टिबीए गुवाहाटी
समूह ‘इ’: दिल्ली एफसी, हैदरावाद एफसी, चेन्नई एफसी, त्रिभुवन आर्मी एफसी
समूह ‘एफ’: बोडोल्याण्ड टीम, ओडिशा एफसी, राजस्थान युनाइटेड, भारतीय सेना

प्रतिक्रिया दिनुहोस्