पुलिसको लगातार चौथो जित



काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हासिल गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा मंगलबार पुलिसले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको हो । पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पारेको थियो । पुलिसको ३ खेलबाट ८ अंक भएको छ । पुलिसले गण्डकीसंग जितेपनि अंक बाडेको थियो ।

यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३–० को जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथी २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । लगातार तेस्रो जितसँगै हेल्प नेपालको ९ अंक भएको छ ।

यस्तै नेपाल एपिएफ क्लबले सैलुङ बागढुङ्गामाथि रोमान्चक जित हात पारेको छ । यो एपिएफको लगातार तेस्रो जित हो । एपिएफले २६–२४, २५–१५ र २८–२६ को जित हात पारेको हो । सैलुङले ५–२ को अग्रता लिदै राम्रो सुरुवात गरेको थियो । तर, निकै रोमान्चक बन्दै गएको खेल एपिएफले २६ अंकमा पुगेर जित निकाल्न पुगेको थियो ।

दोस्रो सेटमा भने सैलुङले सुरुवाती समय अग्रता लिएको थियो । तर एपिएफले लगातार ९ अंक बटुलेपछि सैलुङको जित्ने अवसर गुमेको थियो । तेस्रो सेटमा भने सुरुवातमा उच्च प्रतिस्पर्धा भएको थियो । एपिएफ एक समय २२–१६ को बलियो अवस्थामा थियो । तर उक्त अवस्थाबाट सैलुङले खेलमा नाटकीय रुपमा पूनरागमन गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको महिला तर्फ खेलमा पनि एपिएफले तेस्रो जित निकाल्यो । टोलीले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा हराएको थियो । एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मीसंग अंक बाँडेको थियो ।

यस्तै गरि न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३–२ सेटको जित आत्मसाथ ग¥यो । पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बावजुद आर्मीको योसहित २ अंक भएको छ ।

राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गर्ने टोलीविच फाईनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधी प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्