यौन दुराचारी नासरमाथि चक्कु आक्रमण



न्युयोर्क, (एजेन्सी) । अमेरिकी राष्ट्रिय जिम्नास्टिक टोलीका पूर्व डाक्टर लारी नासरलाई कारागारमै चक्कुले प्रहार गरिएको छ । एक कैदीसँग आइतबार झगडा हुँदा नासरको शरीरमा कयौं पटक चक्कु प्रहार भएको सीबीसी न्युजले जनायो ।

५९ वर्षीय नासरको घाँटीमा दुई पटक, दुई पटक नै पछाडि शरीरमा र ६ पटक छातीमा चक्कु प्रहार भएको थियो । उनी यो हमलापछि भुइँमा धलेका थिए । यो घटनामा कारागारका पदाधिकारी वा अन्य कैदी कोही पनि घाइते भएका थिएनन् ।

यौन दुराचारी नासर १ सय ७५ वर्षको कैदको सजायँ भोगिरहेका छन् । उनले कयौं महिला जिम्नास्टहरुमाथि यौन दुरुपयोग गरेको प्रमाणित भएपछि केही वर्षअघि उनलाई अमेरिकी अदालतले यति लामो सजायँ दिने निर्णय गरिएको थियो ।

नासरले अमेरिकी जिम्नास्टिक कार्यक्रम र मिचिगन स्टेट युनिभर्सिटीमा काम गर्दा खेलाडीमाथि यौन शोषण गरेको स्विकार गरेका थिए । उनले त्यहाँ काम गर्दा ३ सय ३० भन्दा बढी महिलाहरुमाथि यौन शोषण गरेका थिए । उनीमाथि बाल यौन शोषणको पनि आरोप लागेको थियो ।

नासरको यौन शोषणमा विश्वका सफल खेलाडी समेत छन् । जसमध्ये चर्चित जिम्नास्ट ओलम्पिक स्वर्ण पदक विजेता सिमोन बाइल्स पनि परेकी हुन् । यस्तै एली राइसम्यान र मेक्काएला मारोनी पनि उनका शिकार भएका थिए ।

उनीहरुले पहिलो पटक नासरविरुद्ध आरोप लगाउँदा एफबीआईले उनीहरुको कुरा सुनेको थिएन । पछि आरोप पुष्टि भएपछि बाइल्स, राइसम्यान र मारोनीले एफबीआईविरुद्ध १ अर्ब डलरको मानहानी मुद्दा दर्ता गरेका थिए । अमेरिकी जिम्नास्टिकले नासरद्वारा पिडीतहरुलाई ३ सय ८० मिलियन डलर तिर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्