एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी



काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दिपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००÷५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय÷८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००÷२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय÷१५०० मिटर दौडमा भाग लिने छन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्