गाँजा खेती गर्ने कृषकलाई पाँच लाख आर्थिक सहयोग



सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावति गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने किसानलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन भएको हो ।

‘इन्द्रावतीका विभिन्न स्थानमा औषधी र कपडा उत्पादनका लागि गाँजा, सनपार्ट तथा लोक्ता उत्पादन हुने गरेको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताउनुभयो । उहाँले गाँजा प्रयोगमा पालिकाले प्रोत्साहन दिनको लागि नभई गाँजाबाट बन्ने कपडा उत्पादनमा वृद्धि गर्न पालिकाले कृषकहरूलाई प्रोत्साहन उपलब्ध गराउन लागेको बताउनुभयो ।

शर्माले इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियत ऋणसँगै उद्योग दर्ता शुल्कसमेत मिनाहा गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका युवाहरूलाई शैक्षिक प्रमाण पत्रका आधारमा पाँच लाख रुपियाँसम्म सहुलियत ऋणको दिने व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाका अध्यक्ष झमक नेपालका अनुसार पालिकाले सामूहिक खेती, कृषकहरूलाई उत्पादनमा आधारित भई अनुदान वितरण, दूग्ध उत्पादक कृषकका लागि प्रति लिटर चार रुपियाँ अनुदानसमेत दिइने भएको छ । एक वडा एक उत्पादन, एक वडा एक नर्सरी, एक वडा एक अर्गानीक कृषि फर्म, पशु तथा कृषि बाली बिमालगायतका कार्यक्रम कायान्वयन गर्ने अध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्