हिमपहिरोमा परी चार जनाको मृत्यु



एजेन्सी ।

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै आइतबार गएकोे हिमपहिरोमा परी चार जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् ।

डार्मानिनले ट्वीटरमा लेखेका छन् , “हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।”

उनले उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताउनुभएको छ ।

एक हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका चार जनाबाहेक अन्य नौ जना पनि उनीहरूसँगै गएको हाउटे–सावोई विभागका अधिकारीले जनाएका छन् ।

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ‘ग्लेसियर डी’आर्मनसेट नजिकै हाइकिङ गरिरहेका थिए ।

हिमपहिरो पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको बताएका छन् ।

उनले भने, “यस दुःखको घडीमा हामी मृतकका परिवार र हिम पहिरोमा फसेका नागरिक (पर्यटक) को उद्धारका लागि चिन्तित छौं ।

“हिउँमा फसेकाहरूको खोजीका लागि हाम्रो आपतकालीन सेवा परिचालन गरिएको छ,” उनले भने ।

आपतकालिन उद्धारकर्ताहरूले घटनास्थलमा हेलिकप्टरका साथै विशेषज्ञ पर्वतीय उद्धार कुकुरहरू तैनाथ गरेका छन् र अझै पनि त्यस क्षेत्रमा खोजी गरिरहेका छन्, यद्यपि प्रिफेक्चरले थप हिमस्खलनको सम्भावनालाई इन्कार गर्न नसकिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्